१६ चैत्र २०८०, शुक्रबार

डोटीका पुराना दरबारको संरक्षण नहुँदा अस्तित्व मेटिँदै

kada durbar doti sudurpaschim scaled
फाइल फोटो

उचित संरक्षण तथा संवद्र्धन नगरिँदा डोटीका पुराना दरबारको अस्तित्व मेटिँदै जान थालेको छ । यहाँका स्थानीय निकायले ती दरबारको उचित व्यवस्थापन तथा संरक्षण गर्न नसक्दा बर्सेनि अस्तित्व मेटिँदै जाने अवस्थामा पुगेका हुन् ।

जिल्लामा पुराना राज्य रजौटाका पालामा निर्माण गरिएका दर्जनौँ दरबार तथा कोटहरू भग्नावशेषका रुपमा परिणत हुन थालेका छन् । जिल्लाका पूर्वीचौकी, जोरायल, दिपायल सिलगढीलगायत क्षेत्रमा निर्माण गरिएका वर्षौँ पुराना दरबार तथा कोटहरूको उचित संरक्षण तथा संवद्र्धन नगरिएका कारण बर्सेनि लोप हुँदै जाने अवस्थामा पुगेको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीय सुरेन्द्रबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुराना राजाका दरबार उचित संरक्षण नगरिँदा खण्डहर बन्दै गएका छन्, यहाँका स्थानीय तहले समयमै उचित संरक्षण नगर्ने हो भने अबको केही वर्षमै ती दरबार बिलिन हुनेछन् ।” जिल्लाको जोरायल गाउँपालिका–६ निरौलीमा रहेको नागीमल्ल राजाले निर्माण गरेको दरबार, दिपायल सिलगढी नगरपालिका–३ दिपायल तथा वडा नं ६ सिलगढीस्थित नाचनथलीमा रहेको डोटी गौडा दरबारको उचित संरक्षण नहुँदा बर्सेनि भत्किँदै जान थालेका छन् ।

पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका यी दरबारहरू समयमै उचित संरक्षण नगरिँदा अस्तित्व मेटिँदै जान थालेको डोटी उद्योग वाणिज्य स्घका पूर्वअध्यक्ष डम्बरबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “डोटीलाई चिनाउने पुराना दरबारको उचित संरक्षण नगरिँदा बर्सेनि लोप हुँदै जान थालेका छन्, पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका दरबारको समयमै संरक्षण गर्नु जरुरी भएको छ ।” यहाँका स्थानीय तहले दरबार संरक्षण तथा संवद्र्धनका लागि केही समय पहिला पहल चालिए पनि अहिले कामले निरन्तरता नपाएको भन्दै स्थानीयवासी दुःखी भएका छन् ।

दरबार संरक्षणका लागि यहाँका स्थानीय तहले खासै चासो नदेखाएका कारण अस्तित्व मेटिदै जान थालेको उनीहरूको गुनासो छ । डोटी राज्यको दरबार अर्थात्, मूलगढ हालको महाकाली अञ्चलअन्तर्गत डडेलधुरा जिल्लास्थित अजयमेरुमा थियो । जसलाई अद्यावधि अजैमर कोट भनिन्छ । पहिला त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुँदै आएकामा डोटेली राजा भूपति शाहीको शासनकालमा हालको दिपायलको पूर्वी भागतिर गनैरगौडा नामक डाँडामा राजदरबार अर्थात् कोट निर्माण हुन गई त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुने गरेको कांग्रेसका पुराना नेता तथा पूर्वसांसद यज्ञराज पाठकले बताउनुभयो ।

उहाँका अनुसार उक्त दरबारलाई तत्कालीन समयमा अद्यावधि दिपायलकोट भनिन्थो । तत्कालीन डोटेली राजाको दरबारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएबाट दिनानुदिन जीर्ण हुन गई हाल भग्नावशेषका रूपमा छन् । डोटी राजाको मूल दरबार अजैमर कोट हिउँदको समयमा ज्यादै चिसो हुने भएकाले शीतकालीन दरबारको रूपमा दिपायलमा कोट निर्माण भई यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुने गरेको भनाइ छ ।

सन् १४३८ देखि सन् १४५० सम्म डोटी र कुमाउँको युद्धपछि त्रसित तत्कालीन राजा कल्याण मल्लले दिपायलकोटमा राजधानी सारेको विभिन्न शिलालेखमा उल्लेख गरेको पाइन्छ । युद्धमा पराजयको कारण दीप शाही भारतको सिंगाही पसेकाले शरणमा आएका उहाँका भाइ विष्णु शाहीलाई गोरखालीको रजौटा बनाइयो । विष्णु शाहीपछि उहाँका ज्येष्ठ पुत्र पहाडी शाही (द्वितीय) रजौटा भएको भनाइ छ ।

रजौटा डोटेली साहेव भनिने पदम विक्रम शाहका माइला पुत्र वर्ष ७९ का विष्णु शाहीदेखि पुख्र्यौली ज्येष्ठ पुत्र रजौटाका रूपमा रहिआएको भन्ने भनाइ छ । विष्णु शाही, पहाडी शाही (द्वितीय), बलदेव शाही, सुरजङ्ग शाह, शम्शेरबहादुर शाह, पदमविक्रम शाह, मोहनविक्रम शाह । यस प्रकार विसं २०१८ मा ‘राज्य रजौटा’ ऐन जारी भएपछि यहाँको रजौटा समाप्त हुन गएको भन्ने थियो । तत्कालीन अन्तिम रजौटाका रूपमा मोहनविक्रम शाह थिए ।

विसं २०१८ देखि रजौटा प्रथाको अन्त्य भए पनि डोटीको दिपायल राजपुरस्थित शाह खलकमा पुख्र्याैली ज्येष्ठ पुत्रलाई आदरपूर्वक सम्मान दिइनुका साथै बडादशैँमा घरपरिवारका साथै खलकका बाल वयोवृद्ध सबैले उहाँका हातबाट टीका ग्रहण गर्ने र उहाँले पनि पारिवारिक तथा खलकको रीतिरिवाजको परिधिमा रहनुपर्ने र जसको अनुशरण नगरेमा खलक तथा परिवारले सम्मान नदिने प्रचलन अहिलेसम्म कायमै रहेको स्थानीय बुढापाका बताउँछन् ।

नेपाल एकीकरणपूर्व डोटी राज्यको राजधानी गोर्खालीबाट परास्त भएपछि अर्थात् नेपाल एकीकरणपछि गोर्खालीको शक्ति सञ्चय तथा प्रशासकीय केन्द्रका रूपमा डोटी मोहडा गौडाको केन्द्र, विसं २०१८ मा नेपाल अधिराज्यको राजनीतिक विभाजन अनुरूप डोटी जिल्लाको सदरमुकाम र विसं २०३८ मा सुदूरपश्चिम विकास क्षेत्रको (सेती– महाकाली) विकास केन्द्रद्वारा प्रतिष्ठित हुँदै आएको हालको दिपायल सिलगढी नगर क्षेत्रले विसं २०३८ मा नगरपालिकामा परिणत भएको भन्ने स्थानीयवासीको भनाइ छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका–६ नाचन्थलीमा रहेको राणाकालीन दरबारको उचित संरक्षण नगरिँदा भत्किन थालेको छ ।

जिल्लाको ‘मल्लो ढोका’ भनेर चिनिने यो दरबार उचित संरक्षण अभावमा भग्नावशेषमा परिणत हुँदैछ । राणा शासनकालमा हाल जिल्ला प्रशासन कार्यालय रहेको ठाउँलाई ‘तल्लो ढोका’ भन्ने गरिन्थ्यो भने ‘मल्लो ढोका’ दरबार बडाहाकिमको निवासका रूपमा प्रयोग हुने भएको थियो । करिब ४० कोठाको यो दरबार संरक्षण अभावमा भत्किन थालेको छ । मल्लो ढोका वरिपरि कोत गार्ड, सुसारे निवास, मनोरञ्जन घर, पूजाघर निर्माण भएका छन् । ती घर पनि भत्किन थालेका छन् ।

बहादुरशम्शेर राणा बडाहाकिम भएका बेला उक्त दरबार स्थानीय व्यक्तिलाई बिक्री गरिएको थियो । यो कहिले बिक्री भयो भन्ने पत्ता लाग्न सकेन, तर बहादुरशम्शेर विसं १९९० को दशकमा डोटी गौंडामा भएको यहाँका बुढापाका बताउँछन् । करिब ४६ रोपनी जमिन त्यतिबेला रु १० हजारमा सिलगढीका सुरत श्रेष्ठलाई बिक्री गरेको भन्ने सुनेको स्थानीयवासी सिद्धराज श्रेष्ठ जानकारी दिनुभयो ।