८ आश्विन २०७८, शुक्रबार

पाँचखालका कृषकका उत्पादित तरकारीमा कम हुँदै विषादी प्रयोग

pachkhal vegetables

पाँचखाल नगरपालिका–७ श्रीरामपाटीको कृषक शशिकला ढकालले यो वर्ष पनि काउली र आलु बालीमा रासायनिक विषादी हाल्नुभएन । उहाँले जाडोयाममा विशेषगरी बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा विषादी छर्नुभयो ।

“करिब दुई वर्षदेखि रासायनिक विषादी हाल्न छाडेका छौँ, कहिलेकाहीँ बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा हाल्छौँ”, दाहालले भन्नुभयो । यस वर्ष काउली र गोलभेँडामा रासायनिक विषादी नहाली उत्पादन गरिएको उहाँले बताउनुभयो । “बालीमा समस्या आएपछि कृषि प्राविधिकलाई खेतमै बोलाएर सल्लाहमा मात्रै हामी विषादी हाल्छौँ”, उहाँले भन्नुभयो ।

विषादी प्रयोग गरेपछि प्राविधिकले दिएको समय अनुसार मात्रै तरकारी बजार लैजाने गरिएको उहाँले बताउनुभयो ।

सोही वडाका सरस्वती दाहालले पनि आफ्नो तरकारी बालीमा यस वर्षदेखि रासायनिक विषादी छर्न छाड्नुभयो । “यस वर्ष बालीमा विषादी छरेका छैनौँ, छर्नै परे प्राविधिकको सल्लाहमा छरेर टिप्ने समयपछि मात्रै बजार लैजान गर्दै आएका छौँ”, उहाँ भन्नुहुन्छ । पाँचखाल नपा–७ कै शिवराज श्रेष्ठ पनि रासायनिक विषादीको विकल्पमा आफैँ जैविक विषादी बनाएर बालीमा हाल्ने गर्नुभएको छ । “जैविक विषादी र मल बनाउन घरमा गाईवस्तु थपेको छु”, उहाँले भन्नुभयो ।

पाँचखाल नपा–६ का कृषक सीताराम दुलाल र केदार ढुङ्गानाको पनि बालीमा जैविक विषादी प्रयोग गर्ने तौरतरिका एउटै छ । ढुङ्गानाले भन्नुभयो, “स्थानीय स्तरमा उपलब्ध जडीबुटीबाट जैविक विषादी तयार गरेर बालीमा प्रयोग गर्दा स्वस्थकर र उत्पादन लागत कम हुने गरेको छ ।” उहाँ आफैँ आफ्नो खेतबारीको माटो परीक्षणसमेत गर्नुहुन्छ । श्रेष्ठले भने आफ्नो २० रोपनी खेतबारीमा जैविक विषादी प्रयोग गरी केही वर्षदेखि जैविक तरकारी ‘सुरक्षित उत्पादन’ उत्पादन गर्दै आउनुभएको छ ।

उहाँले लव ग्रिन नेपालद्वारा सञ्चालित एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि (आइपिएम) कक्षामा सहभागी भएपछि जैविक विषादी बनाउन तथा गोठसुधार गरी पशुमुत्र सङ्कलन गरी बालीमा प्रयोग गरिरहनु भएको हो । उक्त संस्थाले पाँचखालका २३ स्थानमा केही महिनाअघि मात्रै १८ महिने आइपिएम कक्षा सञ्चालन गरी जैविक विषादी प्रयोगबारे करिब ७०० कृषकलाई तालिम दिएको थियो । पाँचखालका कृषक आइपिएम कक्षामा सिकेर आफैँले तयार गरेको जैविक विषादी प्रयोग गर्न थालेपछि पाँचखाल क्षेत्रका तरकारी लगायत बालीमा रासायनिक विषादी प्रयोगमा सचेत बन्दै न्यूनीकरणतर्फ लागेको बताइन्छ ।

पाँचखालमा हाल उत्पादित तरकारीजन्य बाली विषादी रुकावट अवशेषको मापदण्ड भित्रै रहेकाले ‘सुरक्षित उत्पादन’ भन्न थालिएको पाँचखाल नपा कृषि शाखाका कृषि प्रविधिक ईश्वर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “नियमित परीक्षणबाट मापदण्डभन्दा निकै कम प्रतिशत देखिएकाले पाँचखालको तरकारी प्राविधिक हिसाबले ‘सुरक्षित उत्पादन’मा पर्दछ ।” उहाँका अनुसार कृषकहरु पाँचखालको तरकारीमा विषादी बढी हुन्छ भन्ने आफूहरुमाथि लाग्ने आरोप जैविक विषादीको प्रयोगबाट चिर्ने अभियानमा लागिरहेका छन् ।

रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक विषादी प्रयोगमा लागेकामा वातावरण प्रदूषण तथा मानव स्वास्थ्यमा पर्ने असर कम हुँदै जाने अपेक्षा गरिएको छ । कृषि प्रविधिकले पाँचखालका कृषकलाई प्रयोगशाला (रेपिड बायो एसे पेस्टिसाइड रेजिड्यू–आरबिपीआर ल्याब) मा आफूले उत्पादन गरेको तरकारीको विषादी अवशेषको मात्र परीक्षण गर्न ल्याउन पनि सबैमा अपिल गर्दै आएका छन् । केन्द्रमा गत वर्ष भदौदेखि काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानको तरकारीको नमूना सङ्कलन गरी नियमित परीक्षण हुँदै आएको छ । सङ्कलित नमूनाको विषादी रुकावट अवशेष परीक्षण-मापन गर्दा सुरक्षित मापदण्डभित्र रहँदै आएको जनाइएको छ ।

परीक्षणबाट पाँचखालको तरकारीमा विषादीको रुकावट प्रतिशत (इमिसन रेट) सरदर तीनदेखि नौ प्रतिशतसम्म झर्ने गरेको र १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेको परीक्षण प्रतिवेदनले देखाएको छ । वाग्मती प्रदशेको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ ले ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्त कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ ।

वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले काभ्रेपलाञ्चोकसहित प्रदेशका चितवन, मकवानपुर, ललितपुर र नुवाकोट जिल्लामा आरबिपीआर ल्याब स्थापना गरिएका छन् ।