१६ चैत्र २०८०, शुक्रबार

‘रबर खेतीका पिता’ झापामा सम्मानित

sujata koirala 1

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले ‘रबर खेतीका पिता’ भनेर परिचित नेपालमा रबर खेतीको पहिलो अनुसन्धाता तिलकबहादुर भण्डारीलाई विहीबार झापामा सम्मान गरेको छ ।

पूर्व उपप्रधानमन्त्री तथा फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्न आयोजित कार्यक्रममा उहाँलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभयो । तीन दशकअघि भण्डारीले अनुसन्धान गरी नेपालमा रबर खेती सम्भव भएको निचोड निकाल्नुभएको थियो ।

त्यही आधारमा झापा र गोरखा जिल्लामा पहिलोपल्ट २०४८ सालमा रबर खेती शुरु गरिएको थियो । हाल झापा, मोरङ र सुनसरी जिल्लामा दशौँ हजार हेक्टर भूमिमा रबर खेती गरिएको छ । झापामा रबर खेती शुरु गर्दा अनुसन्धाता भण्डारीले किसानलाई यसको बारेमा प्राविधिक सीप सिकाउनुभएको थियो ।

फाउन्डेसनले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्दै रबर खेतीको विकासमा सघाउने योजना अघि सारेको छ । फाउन्डेसनका अध्यक्ष कोइरालाले झापामा रबर खेतीको सम्भावना देखेर पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै पहिलोपल्ट रबर विकास बोर्ड गठन गर्नुभएको बताउनुभयो ।

स्थानीय किसानलाई रबर खेतीमा आकर्षित गरेर आर्थिकस्तर उकास्न फाउन्डेसनले कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार...