१३ बैशाख २०८१, बिहीबार

सरकाद्धारा बीस लाख डोज खोप किन्ने तयारी

covishield vaccine

सरकारले कोभिसिल्ड खोप खरिद गर्न प्रक्रिया अगाडि बढाएको छ । रकम भुक्तानी, बैङ्क ग्यारेन्टी र धरौटीसम्बन्धी सार्वजनिक खरिद ऐन–२०६३ को व्यवस्था यस पटक लागू नहुने गरी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट थप २० लाख डोज खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले थप खोप ल्याउने निर्णय गरेको जानकारी दिनुभयो । खरिद ऐन २०६३ को व्यवस्था बाधक देखिने भएपछि त्यसलाई सच्याउने निर्णय गरिएको हो । कोरोनाविरुद्धको खोप प्रतिडोज चार अमेरिकी डलरका दरमा २० लाख डोज खोप अग्रिम भुक्तानी गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वास्थ्य सेवा विभागलाई अख्तियारी दिने निर्णय गरिएको हो । फेब्रुअरीभित्र १० लाख र मार्चभित्र बाँकी १० लाख डोज खोप ल्याउने तयारी सरकारले गरेको छ । यसअघि भारत सरकारले गत ८ माघमा उपलब्ध गराएको १० लाख डोज कोभिसिल्डबाट नेपालमा कोभिडविरुद्धको खोप अभियान सुरु भइरहेको छ ।
प्रयोगशाला घटाइए

सरकारले कोरोना परीक्षण गर्ने सरकारी प्रयोगशालाको सङ्ख्या घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप खरिदबारे जानकारी दिँदै कोरोना परीक्षण गरेको सङ्ख्याका आधारमा सङ्ख्या घटाएको उल्लेख गर्नुभयो । यसअघि ४९ वटा सरकारी प्रयोगशालामा पीसीआर परीक्षण हुने गरेकामा अब २९ वटा प्रयोगशालामा मात्र पीसीआर परीक्षण हुनेछ ।

उहाँले परीक्षण गर्न मानिस नआएपछि सरकारी प्रयोगशाला घटाएर २९ वटा प्रयोगशालामा मात्र कोरोना परीक्षण गरेको जानकारी दिनुभयो । प्रयोगशालाहरूलाई प्रादेशिक प्रयोगशालामा एकीकृत गरी प्रादेशिक प्रयोगशालाबाट मात्रै कोरोना परीक्षण हुने जनाइएको छ ।
थप १२५ सङ्क्रमित

यसैबीच गत २४ घण्टामा देशभर थप १२५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस्तै ९१ जना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा ६० जना सङ्क्रमित थपिएका छन् । तिनमा काठमाडौँमा ४५, ललितपुरमा ९ र भक्तपुरमा ६ जना रहेका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा तीन हजार ८३८ जनाको पीसीआर विधिबाट गरिएको नमुना परीक्षण गरिएको थियो । नेपालमा हालसम्म कुल २१ लाख २७ हजार ७ सय ८९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । तिनमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ७० पुगेको छ भने कोरोना निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ३९४ पुगेको छ । हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६ सय २१ छ ।