६ बैशाख २०८१, बिहीबार

बाह्र दिनपछि सफलता

150782487 946650609204727 2733913453799147427 n

“रणभूमिको मैदान हारेर होइन, जितेर मात्र छोड्ने हो”, सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले १२ दिनअघि बैतडी जिल्ला टेक्दै गर्दा बोल्नुभएको शब्द हो यो ।

बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या घटनाको अनुसन्धान गर्न माघ २३ गते घटनास्थल पुग्नुभएका सुवेदी आफ्नो बोलीअनुसार सफलता प्राप्त गरेर बुधबार कैलालीको धनगढी फर्किनुभयो । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत छात्रा भागरथी माघ २१ गते दिउँसो विद्यालयबाट घर फर्किंदै गर्दा एकाएक बेपत्ता भएपछि २२ गते लबलेक जङ्गलमा हत्या गरिएको अवस्थामा शव फेला
परेको थियो ।

कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याजस्तै संवेदनशील सो घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुुकुर लिएर डीआईजी सुवेदी आफँै बैतडी पुग्नुभएको थियो । उहाँको उपस्थितिले हत्या घटनाको अनुसन्धानमा सुरक्षाकर्मीको मनोबल मात्र बढेन; थप सुझाव सल्लाह, निर्देशन र स्थानीयवासीसँगको समन्वय प्रभावकारी बन्यो । कतिपयले भागरथी हत्या घटनालाई निर्मलाकै जस्तो दाँज्न थालिसकेका थिए । तर, प्रदेश प्रहरी प्रमुखको सुझबुझ निर्देशन, सबैको सहयोग, सहकार्यबाट अभियुक्तलाई पक्राउ गर्न सफल भएको बैतडी जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक नारायण अधिकारी बताउनुहुन्छ ।

भारगथी हत्या घटनाको १५ दिनपछि बुधबार प्रहरीले अभियुक्त १८ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको छ । प्रदेश प्रहरी प्रमुख सुवेदीले सुरुवातको चरणमा अनुसन्धानको घेरा फराकिलो बनाए पनि भट्टको पक्राउपछि साँघुरिएको स्पष्ट पार्नुभयो ।

कुराकानीमा उहाँले भन्नुभयो, “अभियुक्त भट्टमाथि सुरुवातीकै चरणमा शङ्का गरे पनि स्वीकारी नसकेकाले अनुसन्धानले समय लिएको हो ।” हत्या घटनाबाट सङ्कलित प्रमाणले अभियुक्त भट्टलाई किटानी गरे पनि प्रहरी भने उनकै मुखबाट सुन्ने प्रतीक्षामा थियो ।

सुवेदी पनि सुझबुझ, पर्याप्त प्रमाण तथा तथ्य आधार देखाएर अभियुक्त सार्वजनिक गर्ने निर्णयमा पुग्नुभएको थियो । त्यही भएर अलि बढी समय लागेको हो । डीआईजी सुवेदी आफैँ जिल्लामा बसेर अहोरात्र अनुसन्धानमा खटिई हत्या घटनाको अनुसन्धान गर्न सफल भएको भन्दै स्थानीयवासीले शोकको बेला पनि उहाँलाई फूलमाला र अबिरजात्रा गरी बिदाइ गरेका छन् ।