८ बैशाख २०८१, शनिबार

गाउँमा खेलको रौनक बढ्दै

20201221 134432 1024x576 1

तमानखोला गाउँपालिका– ५ घर भएकी तिर्सना सिर्पाली गलकोटमा आएर भलिबलको बन्द प्रशिक्षणमा सहभागी हुनुभयो । उहाँले मुख्यमन्त्री कपदेखि राष्ट्रिय खेलकूद प्रतियोगितामा पुरस्कार जित्ने योजना सुनाउनुभयो ।

लामो समयदेखि रोकिएको खेल गतिविधिले अल्छी बन्नुभएकी उहाँ खेलको प्रशिक्षण शुरु भएपछि खुशी हुनुहुन्छ । उहाँ मात्र हैन सिसाखानीकी रेखा राना, रणसिंकिटेनीकी लुनु श्रीषले पनि प्रशिक्षण लिइसक्नुभयो । कोरोना सङ्क्रमण र लकडाउनका कारण लामो समय बन्द खेल गतिविधि शुरु भएपछि खेलाडी मात्र हैन, ग्रामीण भेगका अधिकांश मानिसमा रौनक छाएको छ ।

खेल प्रशिक्षण हेर्न कतिपय पुग्न थालेको भलिबल सङ्घ बागलुङका उपाध्यक्ष कमला श्रीषले बताउनुभयो । कोरोनाका कारण रोकिएका अधिकांश खेलका गतिविधि अहिले बढेका छन् । बागलुङमा क्रिकेट, भलिबल र फुटबलका प्रतियोगिता र प्रशिक्षण शुरु भएका हुन् । “मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने भएपछि हामीले जिल्ला भरका खेलाडीको बन्द प्रशिक्षण चलायौैं”, जिल्ला भलिबल संघका अध्यक्ष यामबहादुर श्रीषले भन्नुभयो, “खेल गतिविधि बढ्दा गाउँगाउँमा चहलपहल पनि बढेको छ ।”

सङ्घले गलकोट नगरपालिकाको सहयोगमा महिला तथा पुरुष भलिबलको बन्द प्रशिक्षण चलाएको थियो । विद्यालय र पालिका तहबाट छनोट भएका खेलाडीलाई प्रशिक्षणमा राखिएको हो । प्रशिक्षणमा रहेका खेलाडीले पोखरामा हुने मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा उपाधि जित्ने दाबीसमेत गरेका छन् । “मुख्यमन्त्री कप जित्ने मात्र होइन, राष्ट्रिय खेलमा पनि पुगेर पुरस्कार जित्ने लक्ष छ”, सिर्पालीले भन्नुभयो, “लामो समय ठप्प खेल गतिविधिलाई अब नियमित बनाउनुपर्छ ।” गलकोट नगरपालिकाले रु एक लाख र विदेशमा बसेका गलकोटवासीले पठाएको रु एक लाखसमेत गरी दुई लाखबाट बन्द प्रशिक्षण सञ्चालन गर्न पाएको श्रीषले बताउनुभयो ।

जिल्ला तहका खेल समिति भङ्ग भएको, राष्ट्रिय खेलकूद परिषद्बाट बजेट नआउने तर क्रियाकलाप गर्न मात्रै निर्देशन आउने गरेकोले खेल गतिविधि गर्न चन्दाको भर पर्नु परेको उहाँले बताउनुभयो । स्थानीयवासीले चन्दा उठाएरै ढोरपाटन, जैमिनी र गलकोट नगरपालिका तथा तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकामा भलिबल छनोट प्रतियोगिता गरेका थिए । अन्य चार पालिकामा भने प्रतियोगितानै हुन नसकेको हो ।

सदरमुकाममा भने बागलुङ नगरपालिकाको सहयोगमा शहीद स्मृतिकप क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ । प्रतियोगितामा दर्जन टिमले भाग लिएका थिए । फुटबलका लागि पनि केही समयदेखि सामान्य गतिविधि सञ्चालनमा आएका छन् । सदरमुकामस्थित बाङगेचउर खेल मैदानमा ती प्रतियोगिता सञ्चालनमा आएका हुन् ।

प्रतियोगिता सञ्चालनका लागि विदेशमा बसेका युवाबाट चन्दा मागिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष रामराज गुरुङले बताउनुभयो । जिल्ला खेलकूद विकास समिति खारेजीमा परेको र पालिका तहमा समिति गठन नभएपछि खेल गतिविधि सञ्चालन हुन नसकेको समितिका निर्वतमान अध्यक्ष धनबहादुर परियारले बताउनुभयो । “पालिकाहरुले भएको खेल मैदान व्यवस्थापनमा पनि साथ दिएनन्, केन्द्रबाट पनि बजेट आउन छाड्यो”, उहाँले भन्नुभयो, “भाडा तिर्न नसकेर कार्यालय समेत घरघरमा लगेर राखिएको छ ।” खेल गतिविधि सञ्चालनकालागि चासो राख्ने युवा चन्दाको भर पर्नु परेको परियारले बताउनुभयो ।

    सम्बन्धित समाचार...