७ बैशाख २०८१, शुक्रबार

प्रमसँग युएनएचसीआर प्रतिनिधिमण्डलको भेट, भुटानी शरणार्थीको व्यवस्थापनबारे चासो

pm office baluwatar

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर)को नेपाल स्थित प्रतिनिधिमण्डलले आज भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उच्चायुक्तको कार्यालयका नेपाल स्थित प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भुटानी शरणार्थीको व्यवस्थापनबारे चासो राख्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले हाल सम्म भुटानी शरणार्थीको यथोचित प्रबन्धका लागि राष्ट्र सङ्घीय उच्चायोगबाट प्राप्त सहयोगका लागि धन्यवाद प्रकट गर्दै बाँकी शरणार्थीको व्यवस्थापनका लागि पनि पूर्ववत् सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

आफ्नै समस्यासँग जुधिरहेको विकासोन्मुख देश नेपालले यसलाई समयबद्ध ढङ्गले व्यवस्थापन गर्न चाहेको भनाइ प्रधानमन्त्रीको थियो । प्रधानमन्त्रीले शरणार्थी समस्या समाधानका लागि उनीहरूकै देशमा ससम्मान फिर्तीलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । त्यसो हुन नसके विकल्पमा तेस्रो मुलुकमा स्थानानान्तरण र त्यसबाट पनि बाँकी रहेका शरणार्थीहरूको व्यवस्थापन नेपालमै गर्नका लागि गरी तीनवटै विकल्पमा कार्य गर्न नेपाल सरकार खुला रहेको प्रधानमन्त्रीले बताउनुभयो । यसका लागि उच्चायुक्तको कार्यालयबाट सहयोग प्राप्त हुने विश्वास उहाँको थियो ।

जवाफमा प्रतिनिधि वर्माले शरणार्थी व्यवस्थापन सम्बन्धी सहयोग निरन्तर गर्नेबारे उच्चायुक्तको कार्यालय सकारात्मक रहेको बताउनुभयो ।