४ बैशाख २०८१, मंगलवार

मकै र कोदो छाडेर अदुवाखेती, बारीमै थन्कियो अदुवा

ginger

जिल्लाका दक्षिणी क्षेत्रका किसानले उत्पादन गरेको अदुवा बारीमै कुहिन थालेको छ । अदुवा खरीद गर्ने ग्राहक गाउँमा नआएका कारण अहिलेसम्म किसानको अदुवा बारीमै थन्किने अवस्थामा पुगेको हो । वर्षभरिको आम्दानीको स्रोतको रुपमा लिइने अदुवा व्यापारीले विभिन्न बहाना बनाउँदै किन्न नै नआउने गरेपछि अदुवा घरैमा कुहिन थालेको किसानको गुनासो रहेको छ । ग्राहक नआउदा बारीमै अदुवा कुहिन थालेपछि किसान निराश भएको बडिकेदार गाउँपालिका–५ का स्थानीयवासी टेकबहादुर कलेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षभरिको आम्दानी अदुवा थियो त्यही पनि किन्न व्यापारी आउदैनन्, बारीमै कुहिने भयो ।” अदुवा किन्न ग्राहक नआउँदा तथा किसानले काँचो अदुवाको मूल्य प्रतिकेजी रु ६० तोकेपछि बिक्री वितरणका लागि झनै समस्या भएको किसानको भनाइ छ ।

मकै र कोदो छाडेर अदुवाखेती गर्दै आएका यहाँका किसान अदुवा बिक्री नभएपछि चिन्तित बनेका छन् । जिल्लाको बडिकेदार, जोरायल, बोगटान फुड्सिललगायतका गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेको जोरायल गाउँपालिका–६ निरौलीका हिक्मतबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले मनग्य आम्दानी होला भनेर अन्य खेती छोडेर अदुवाखेती गरेका छन्, अदुवा किन्न ग्राहक नै आउदैनन् निकै समस्या भयो ।” अदुवा जिल्लाको बिपीनगर, जोरायल, खसरेमा भण्डारण गरी त्यहाँबाट बिक्री वितरण हुने भए पनि यो वर्ष किसानको बारीबाट नै अदुवा नआएपछि अदुवा भण्डारण केन्द्र पनि खाली अवस्थामा रहेका छन् ।

खाद्यबाली र तरकारीको विकल्पमा अदुवा लगायका कृषक अदुवा नै बिक्री नहुन थालेपछि यो वर्ष कसरी घरखर्च चलाउने भन्ने समस्यामा परेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी स्थानीय बन्दना विष्ट (कलेल) ले बताउनुभयो । उहाँले भन्नुभयो, “खाद्यान्न र तरकारी लगाउन छोडेर अदुवाखेती गरियो अहिले बिक्री नै भएको छैन, अब कसरी हातमुख जोर्ने भन्ने पिर परेको छ ।”

उचित बजार, मूल्य तथा ग्राहक नपाउँदा यहाँका किसानको सयौँ किलो अदुवा बारीमै थन्किएको स्थानीय शान्तिदेवी कलेलले जानकारी दिनुभयो । यहाँका घागल, बर्छैन, लानाकेदारेश्वर, मन्नाकापडी, कोला, स्याली, निरौली, खसरे, चिउरी, भुजाली, सडेखान, छेडा, गैमोडा, जैसिबाज, रिठारा, बुडाकोट, रिसडी लगायतका ठाउँमा व्यावसायिक रुपमा उदुवा उत्पादन हुन्छ । यहाँ उत्पादित अदुवाको प्रमुख बजार विपीनगर, शिवनगर, कैलालीको अत्तरिया तथा भारतका शहर हुन् । यति मात्र नभइ भारतले दुई वर्षयता नेपालबाट अदुवा न्यून मात्रामा किन्न थालेका कारण कृषक मारमा परेका छन् ।

बडिकेदार गाउँपालिकामा दुई हजार घरधुरीले व्यावसायिक अदुवाखेती गर्दै आएको बडिकेदार गाउँपालिका–१ भक्तबहादुर साउदले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका अधिकांश किसानले वर्षमा कम्तीमा एक जनाले तीनदेखि चार क्वीन्टलसम्म अदुवा उत्पादन गर्छन् । अन्य खेती भन्दा अदुवाखेती गर्न सजिलो तथा मनग्य आम्दानी हुने भएका कारण पनि किसान पछिल्लो समय अदुवा खेतीमा अकर्षित हुँदै गएको बडिकेदार गाउँपालिका कृषि एकाइ केन्द्रले जनाएको छ ।