१५ चैत्र २०८०, बिहीबार

मिथिलाञ्चलमा हलोगोरु पूजा

halo

श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले हलो र गोरुको पूजा गरेका छन् । पराम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको शुरुआत मान्दै आज दिन हलो र गोरुको पूजा गरेका हुन् ।

किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायत वस्तुहरुसहित हलो राखेर पूजाआजा गरेका छन् । साथै घरबाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर तिनको पूजा गरेका छन् ।

किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजीकैको खेतमा लगेर आज एकछिन जोत्ने गर्दछन् । आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलो पटक खेत जोत्ने गर्दछन् । उनीहरुले हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन् ।

श्रीपञ्चमीका अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर प्रसाद तयार पार्दछन् । हलो र गोरुको पूजा गरिसकेपछि हलो जोत्ने, एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर पूजा सम्पन्न गर्दछन् ।

मिथिलाञ्चलका किसान आजका दिनबाट आफ्नो खेतीपाती शुरु भएको समेत मान्दछन् भने आजैका दिनबाट आ–आफ्ना बाँझो खेतबारीसमेत जोत्न शुभारम्भ गर्दछन् । हलोगोरु पूजाका अवसरमा गाउँगाउँमा सयौँ गोरु एकैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरुपमा राखेर गइरहेको हेर्दा सबैको मन खुशीले गद्गद् हुन्छ ।

हलो र गोरु पूजा जिल्ला सदरमुकाम जलेश्वरलगायत जिल्लाको १० नगरपालिका, पाँच गाउँपालिका गरी १५ स्थानीय तहमा भइरहेको छ ।

कम्प्युटर प्रयोग विहीन

सरकारको सूचना प्रविधि कार्यक्रमअन्तर्गत जनता माध्यमिक विद्यालयमा २४ कम्प्युटर प्रदान गरिएको छ । विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट वञ्चित हुनुपरेको छ । प्रधानाध्यापक महेश्वर रायले कक्षा ५, ६, ७ र ८ का विद्यार्थीका लागि सरकारले ती कम्प्युटर प्रदान गरेको जानकारी दिनुभयो । सरकारले विषयगत शिक्षक नपठाउँदा कम्प्युटरहरु प्रयोगविहीन भएर कोठामा थन्किएका छन् । विद्यालयमा कम्प्युटरका साथै इन्टरनेटको सुविधा पनि रहेको छ ।

    सम्बन्धित समाचार...