७ बैशाख २०८१, शुक्रबार

जिम्बाबेमा लकडाउनको म्याद थप

1x 1

कोरोनाभाइरसबाट प्रभावित अफ्रिकी मुलुक जिम्बाबेमा लकडाउनको समयावधि फेरि थप गरिएको छ ।

कोरोनाभाइरसको महामारी नियन्त्रण नभएकाले लकडाउन फेरि थप्नु परेको राष्ट्रपति इमर्सन मनङ्गवाले बताउनु भयो ।

उहाँका अनुसार यसअघि छ हप्ता लागु गरिएको देशव्यापी लकडाउन अहिले दुई हप्ता थप्ने तयारी भएको हो ।

राष्ट्रपति मनङ्गवाले देशमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेक्रम नरोकिएकाले लकडाउन आवश्यक परेको बताउनुभयो ।

व्यापार व्यवसाय गर्ने समय भने बढाइएको छ । दैनिक सातदेखि नौ घण्टासम्म व्यापार व्यवसाय गर्न पाइने व्यवस्था गरिएको छ । रातिको समयमा भने कफ्र्यु नै लगाइएको छ ।
लकडाउनको समयमा विद्यालयहरु भने पूर्ण रुपमा बन्द हुने पनि राष्ट्रपति मनङ्गवाले जानकारी दिनुभयो ।

त्यसैगरी अन्तर शहर र अन्तर प्रान्तस्तरीय भ्रमण पनि बन्द गराइएको छ भने भोजभतेर र भिडभाड पनि गर्न नपाइनेको व्यवस्था गरिएको छ ।

सबै गतिविधि गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड तथा निर्देशिकाअनुसार गर्न पनि सरकारले आह्वान गरेको छ ।

जिम्बाबेमा गत आइतबार एक दिनमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको थियो भने ६८ जना सङ्क्रमित भएका थिए ।

अधिकारीहरुकाअनुसार जिम्बाबेमा अहिलेसम्म झण्डै एक हजार ४०० जनाको मृत्यु भएको छ भने ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।