४ बैशाख २०८१, मंगलवार

स्वरोजगार सिर्जना गर्ने कार्यलाई थप प्रभावकारी बनाउने

yuwa sworojgar

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ‘सहकार्यमा आधारित साझेदारी कर्जा लगानी कार्यक्रम’ सञ्चालन गरी स्थानीय तहमा स्वरोजगार सिर्जना गर्ने कार्यलाई थप प्रभावकारी बनाउने भएको छ ।

कोषद्वारा आयोजित पत्रकार सम्मेलनमा स्थानीय स्रोत साधनको समुचित प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक व्यावसायिक परियोजना सञ्चालन गर्न प्रदेश, स्थानीय तह र समान उद्देश्य भएका सङ्घ÷संस्थासँग सहकार्य गर्ने जनाइएको छ ।

कोषका कार्यकारी उपाध्यक्ष डा देवराज रोक्काले साझेदारीमा कर्जा लगानी कार्यक्रममार्फत सुलभ व्यावसायिक कर्जा उपलब्ध गराएर उद्यमशीलताको विकास गर्ने र मुलुकभित्र स्वरोजगार सिर्जना गर्न कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

उहाँका अनुसार कोषले स्वरोजगार तथा रोजगार सिर्जना गर्नका लागि प्रदेश, नगरपालिका, गाउँपालिकासँग बढीमा ३.५ प्रतिशत ब्याज दरमा कर्जा उपलब्ध गराउने छ । कञ्चनपुर, बारा, पर्सा, रौत्तहट, सर्लाही र धनुषालगायत तराईका २१ जिल्लामा ‘भकारी प्रविधियुक्त माछापालन’ मा लगानी गरी स्वरोजगारका अवसर सिर्जना गर्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तराई–मधेश स्वरोजगार कार्यक्रमअन्तर्गत अटोरिक्सा, ठेलागाडामा दुग्धजन्य व्यवसाय, फलफूल, तरकारी, चटपटे र फास्ट फूड पसललगायत अन्य व्यवसायका लागि प्रविधिमा लगानी गरी स्वरोजगारका अवसर सिर्जना गर्न कर्जा उपलब्ध गराउने छ ।

उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकास्थित महानगरपालिका, नगरपालिका र समान उद्देश्य बोकेका स्वरोजगार तथा रोजगारसँग जोडिएका सङ्घ÷संस्थासँग समन्वय र साझेदारी गरी पार्क, चोक, गल्ली, सपिङ मललगायतका ठाउँमा ठेलागाडामा फास्ट फुड, तरकारी तथा फलफूल, दुग्घजन्य उत्पादन बिक्री आदि कार्यका लागि पनि कर्जा उपलब्ध गराइने छ ।”

    सम्बन्धित समाचार...