८ बैशाख २०८१, शनिबार

दिक्तेल–काठमाडौँ पर्यटक बस सेवा सञ्चालन

1 4

देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल–काठमाडौँ सिधा पर्यटक बस सेवा शुरु भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथमा आन्तरिक पर्यटकको वृद्धि एवम् विकास गर्ने लक्ष्यका साथ उक्त बस सेवाले दैनिक दिक्तेलबाट एकवटा र काठमाडौँबाट एकवटा पर्यटक बस शुरु गरेको हो ।

दिक्तेलस्थित होटल शुभदिनमा औपचारिक कार्यक्रमको आयोजना गरी पर्यटक बसको उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले रिबन काटेर पर्यटक बस सेवा उद्घाटन गर्नुभयो ।

नेपालका मुख्य शहरहरुमा ३० वर्षदेखि सुविधा सम्पन्न पर्यटक बस सञ्चालन गर्दै आएकोमा उक्त संस्थाले दशौँ गन्तव्य अन्तरगत दिक्तेल–हलेसी–काठमाडौँ पर्यटक बस सञ्चालन शुरु गरिएको बस सेवाका अध्यक्ष एवम् नेपाल एसोशियसन अफ टुर एण्ड ट्राभल ‐नाटा) का पूर्व अध्यक्ष सिएन पाण्डेले बताउनुभयो । बस सेवाका अध्यक्ष पाण्डेका अनुसार उक्त बसमा एयर कण्डिसन, आरामदायी सिट, यात्रु बिमा, पर्यटकको सेवा दिने तालिमप्राप्त जनशक्ति रहेका छन् ।

प्रतिव्यक्ति रु एक हजार ५०० भाडा निर्धारण गरिएको उक्त बसको टिकट अनलाईनबाट समेत लिन सकिने व्यवस्था मिलाइएको जनाइएको छ । यसअघि सुपर खोटाङ–भोजपुर यातायात प्रा.लि.ले दिक्तेल–काठमाडौँ फोटन माइक्रो भ्यान सेवा शुरु गरेको थियो ।

2 3

सर्वसाधारणलाई सुलभ र भरपर्दो यातायात सेवा दिन खोटाङमा पहिलो पटक १९ सिटको सुपर फोटन माईक्रो भ्यान सेवा सञ्चालन गरिएको प्रा.लि.का अध्यक्ष आइतलक्ष्मी राईले बताउनुभएको थियो । यातायात व्यवसायीले नयाँ बसहरु लगाउने भनेर उद्घाटन गर्ने तर, केही दिनपछि हराउने प्रथा रहेको र त्यस प्रथालाई चिर्दै पर्यटक बसले निरन्तरता दिनुपर्ने कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

देश दर्शन बस सेवाका अध्यक्ष तथा नेपाल एसोशियसन अफ टुर एण्ड ट्राभल (नाटा) का पूर्व अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाल एसोशियसन अफ टुर एण्ड ट्राभल‐नाटा) का अध्यक्ष अच्युत गुरागाई, उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राई, होटल व्यवसायी सङ्घका अध्यक्ष जेपी राई, खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङ लगायतको उपस्थिति रहेको थियो ।