६ बैशाख २०८१, बिहीबार

जनकेन्द्रित पत्रकारिता आजको आवश्यकता होः प्रदेश प्रमुख अधिकारी

Somnath Adhikari

प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले समाजको अग्रगामी परिवर्तनका लागि सञ्चारकर्मीले अदृश्य शक्तिका रुपमा कार्य गरेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकमा सुशासन, शान्तिसुरक्षा र नैतिकता कायम गर्न सञ्चारकर्मीले ठूलो भूमिका निर्वाह गरेको बताउनुभएको हो ।

प्रदेश प्रमुख अधिकारीले जनकेन्द्रित पत्रकारिता आजको आवश्यकता भएको बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले मुलुकको विकास र समृद्धिका लागि जवाफदेही पत्रकारितामा जोड दिन पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

प्रदेश सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले पत्रकारहरुको वृत्ति विकास एवं स्वास्थ्य उपचारका लागि नवगठित प्रतिष्ठानले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । महासङ्घका प्रदेश अध्यक्ष बिक्रम लुईटेलले महासङ्घ साझा दष्टिकोणबाट अगाडि वढेमा गन्तव्यमा पुग्ने विश्वास व्यक्त गर्दै शुद्धिकरण अभियानअन्तर्गत निजामती कर्मचारी र निर्वाचित जनप्रतिनिधिलाई महासङ्घको साधारण सदस्यताबाट हटाइएको जानकारी दिनुभयो ।

महासङ्घका केन्द्रीय सदस्यद्वय उद्धव तिमिल्सिना र सटेन्द्र जवेगुले समाजमा देखिएका विभिन्न खाले विकृति र विसङ्गतिको न्यूनीकरणका लागि पत्रकारले कलम चलाउनुपर्ने उललेख गर्दै पत्रकारलाई सक्षम बनाउन तालीम र अभिमुखीकरणको व्यवस्या हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश उपाध्यक्ष सोम सुसेली, प्रेस सङ्गठन नेपालका प्रदेश इञ्चार्ज गणेश पोखरेल र राजन केडि, नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिलावल्लभ घिमिरे, महासङ्घका मोरङ र इलामका अध्यक्ष क्रमशः बन्धु पोखरेल र कोकिला ढकालले सङ्घीयताको उपलब्धिको रुपमा महासङ्घ प्रदेश समिति गठन भएको र प्रदेशमा महिला सञ्चारकर्मीको अवस्था दयनीय रहेकाले आवश्यक सहयोगको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।