१६ चैत्र २०८०, शुक्रबार

जुनियर प्रिमियम टेनिस प्रतियोगिता शुरु

1st
फाइल फोटो

प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिता आजदेखि शुरु भएको छ । टिम टेनिस नेपालको आयोजनामा शुरु भएको उक्त प्रतियोगिताको धापाखेलमा एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङले उद्घाटन गर्नुभयो । प्रतियोगितामा १२९ खेलाडीको सहभागिता रहेको छ । उनीहरूले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरिरहेको टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत आज यु–८ एकल ब्वाइजतर्फ निश्चल ज्ञवाली तथा गल्र्सतर्फ निश्वी गोर्खालीले स्वर्ण पदक जित्नुभएको छ । फाइनलमा ज्ञवालीले शुभन केसीलाई १०–५ र १०–२ अङ्कले तथा गोर्खालीले आयुश्री घलेलाई ८–१०, १०–३ र १०–८ अङ्कले पराजित गर्नुभयो । प्रतियोगिता शुरु हुनुअघि मन्त्री तामाङले प्रतियोगिता आयोजक टिम टेनिस नेपालले धापाखेलमा निर्माण गरेको कोर्टको समेत उद्घाटन गर्नुभएको थियो ।

जुनियर टेनिस खेलाडीका अभिभावकहरू मिलेर रु दुई करोड ५० लाखको लागतमा सो कोर्ट निर्माण गरिएको टिम टेनिस नेपालका निर्देशक विष्णुबहादुर थापाले जानकारी दिनुभयो । नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण उपलब्ध गराउने उद्देश्यका साथ कोर्ट निर्माण गरिएको उहाँले बताउनुभयो । करीब साढे छ रोपनी क्षेत्रफलमा ६ वटा कोर्ट निर्माण गरिएका छन् । तीनवटा डबल्स कोर्ट, एक–एकवटा रेड तथा एउटा ओरेन्ज बल कोर्ट निर्माण गरिएका छन् । उक्त कोर्टमा यु–८ देखि २० वर्षसम्म उमेर समूहका खेलाडी तथा भेट्रान खेलाडीका लागिसमेत प्रशिक्षणको व्यवस्था मिलाइएको थापाले बताउनुभयो । हाल त्यहाँ ३२ खेलाडी प्रशिक्षणरत छन् । विदेशी र नेपाली प्रशिक्षकले खेलाडीलाई प्रशिक्षण दिँदै आउनुभएको छ ।

    सम्बन्धित समाचार...