१६ चैत्र २०८०, शुक्रबार

नेता कार्कीको ‘दुसाध्य जनयुद्ध’ सार्वजनिक

ganga bisleshak

तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष भूमिका निर्वाह गरेका दोलखेली नेता गङ्गा कार्कीको संस्मरण सङ्ग्रह ‘दुसाध्य जनयुद्ध’ सार्वजनिक गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सो पुस्तक सार्वजनिक गर्नुभयो । जनयुद्धकालमा नेपालको पूर्वी क्षेत्रमा रहँदा प्रत्यक्षरुपमा अनुभव गरेका विषयलाई कार्कीले उक्त पुस्तकमा समेट्नुभएको छ ।

नेपालको राजनीतिक आन्दोलनमा माओवादी जनयुद्धले राजनीतिकरुपमा सचेत गराउन खेलेको भूमिका, राजनीतिक परिवर्तन, जनयुद्धमा प्रत्यक्ष संलग्न नेता तथा कार्यकर्ताको अवस्था तथा त्यसले समग्र नेपालमा पारेको प्रभावबारे पुस्तकमा समेट्ने प्रयास गरिएको लेखक कार्कीले जानकारी दिनुभयो ।

नेकपाका नेतासमेत रहनुभएका कार्कीले जनयुद्धले नेपालको राजनीतिमा पारेको प्रभावलाई जीवन्त राख्ने ध्येयका साथ आफूले अनुभूति सङ्ग्रह प्रकाशनमा ल्याएको बताउनुभयो । पुस्तकको सार्वजनिक गर्नुहुँदै नेकपा अध्यक्ष दाहालले प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएकाले परिवर्तनकामी शक्तिबीच एकता जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “कहीँकतै सङ्घीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौँ शहीदले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको छ ।” उहाँले शहीदलाई सम्झिने भनेको, हामी उहाँहरूले बलिदान गरेर प्राप्त गरेका उपलब्धि गुम्न दिने छैनौँ र अगाडि बढ्छौँ भन्ने रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी जरुरी पर्छ भने फेरी बलिदान हुन तयार छौँ भनेर सङ्कल्प गर्ने दिन हो । म त्यो अपिल सबैसँग गर्न चाहन्छु ।”

उहाँले जनयुद्धको स्मरणलाई ताजा बनाउने पुस्तक प्रकाशित भएकामा बधाई दिनुभयो । कार्यक्रममा प्रगतिशील साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले सरल भाषामा नेपालको राजनीतिक आन्दोलनमा विशिष्ठ योगदान बनाएको जनयुद्धबारे संस्मरण प्रकाशित भएकामा प्रशन्नता व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलकोसमेत उपस्थिति थियो । साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको सो पुस्तकमा जनयुद्धकालीन संस्मरण समेटिएको छ ।

    सम्बन्धित समाचार...