११ बैशाख २०८१, मंगलवार

स्मार्ट नेपाल निर्माण अभियान शुरु

PJ Charikot MinisterGurunga

सरकारले घोषणा गरेअनुसार डिजिटल नेपाल निर्माण अभियानअन्तर्गत स्मार्ट नेपाल निर्माण दोलखाबाट शुभारम्भ भएको छ । डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत स्मार्ट दोलखा निर्माण कार्यक्रम आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुभारम्भ गर्नुभयो । मन्त्री गुरुङले फाइबर लाइनबाट दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीलाई टेलिफोन गर्दै सो कार्यक्रम शुरुआत गर्नुभयो ।

यो अभियान नेपाल टेलिकमसँगको सहकार्यमा प्रत्येक जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य, शैक्षिक संस्था र वडा कार्यालयमा इन्टरनेट तथा टेलिफोन सेवा विस्तार गर्ने योजना छ । नेपालका विभिन्न क्षेत्रमा हालसालै दूरसञ्चार प्राधिकरण र टेलिकमले विस्तार गरिरहेको फाइबरमार्फत सरल तरिकाले नागरिकलाई सेवा दिन इन्टरनेट सेवा विस्तार गर्न लागिएको हो । पुरानो प्रविधिको प्रयोगलाई कमी गर्दै टेलिकमले विस्तार गरिरहेको एउटै भाइबरबाट इन्टरनेट, टेलिफोन र टेलिभिजनसमेत हेर्न सकिने व्यवस्था छ ।

डिजिटल नेपाल निर्माण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनाअनुसार डिजिटलन नेपाल निर्माण गर्ने परिकल्पना साकार पार्न मन्त्रालयको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी विभिन्न चरणमा काम गरिरहेको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

सबै नागरिकलाई लाइन बसेर नभई अनलाइनबाट सेवा दिने उद्देश्यले सरकारले माघ २ गते नागरिक एफ सार्वजनिक गरिसकेको र हाल सबै क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेट जडान गर्ने काम शुरु भएको मन्त्री गुरुङले बताउनुभयो । इन्टरनेटका माध्यमबाट काम गर्दा नागरिकलाई सहज हुने काजगी प्रयोगमा कमी हुने र भ्रष्टचार न्यूनीकरणका लागि सहयोग पुग्ने विश्वास रहेको मन्त्री गुरुङले बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नेपालको सुगम र दुर्गम क्षेत्रमा बसोबास गर्ने सबै नागरिक महत्वपूर्ण रहेको र सुगम र दुर्गमको बीचको सञ्चारको दूरीलाई अन्त्य गरी नागरिकलाई इन्टरनेटका माध्यमबाट सेवा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको उहाँले बताउनुभयो ।

यो अभियानमा पूर्वाधार निर्माणका लागि दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकमले सहयोग गरिरहेको र डिजिटल नेपाल निर्माण अभियानअन्तर्गत ६२० किलोमिटरभन्दा बढी फाइबर बिछ्याइ सकेको र ६३१ पालिकामा फोरजी सेवा विस्तार भइसकेको अन्य बाँकी रहेका क्षेत्रमा समेत यो वर्षको अन्तसम्म सबै पालिकामा फोरजी सेवा विस्तार गरिने सचिव बस्यालले बताउनुभयो ।

नेपाल टेलिकमको आयोजनामा दोलखाबाट आजदेखि शुरु गरिएको स्मार्ट दोलखा निर्माण अभियानअन्तर्गत दोलखाको ७४ वटा वडा कार्यालय र शैक्षिक संस्था, स्वास्थ्य संस्थामा जडान गरिनेछ । डिजिटल नेपालअन्तर्गत यो पूर्वाधार निर्माणको काम भएको र दोलखा दुई क्षेत्र काठमाडौँ मुडे हुँदै चरीकोट र खुरकोट हुँदै चरीकोटसम्म फाइबर लाइन जोडिसकेको र दोलखाको मुख्य बजार क्षेत्र जिरी सिंगटी मागादेउराली क्षेत्रमा फाइबर विस्तार भइरहेकाले फागुन अन्तिमसम्म दोलखामा काम सकिने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताउनुभयो ।

दुर्गम क्षेत्रमा यो सेवा विस्तार भएसँगै इन्टरनेटका माध्यमबाट सहज तवरले एक ठाउँमा भएको ज्ञान सीपलाई अन्य क्षेत्रमा सहजै पु¥याउन सहयोग पुग्ने दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताउनुभयो । फागुनभित्र जडान गरी सक्नेगरी काम शुरु गरिएको दोलखामा ४६८ वटा विद्यालयमा ४० हजार १४७ जना विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् । दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको दोलखामा ७४ वटा वडा रहेका छन् । भीमेश्वर नगरपालिको वडा नं ६ मा तत्काल यो सेवा सञ्चालन गर्नका लागि आवश्यक उपकरण आजै वडा अध्यक्ष नवीन लामालाई सञ्चारमन्त्री गुरुङले हस्तान्तरण गर्नुभयो ।