१३ बैशाख २०८१, बिहीबार

सामुदायिक विद्यालयमा अक्षयकोष

School

दोलखाको मेलुङ गाउँपालिकाका ६ सामुदायिक विद्यालयमा जिल्ला समन्वय समिति दोलखाका सदस्य तथा समाजसेवी विदुर शर्माले आफ्ना बुबाको स्मृतिमा शैक्षिक अक्षकोषको स्थापना गर्नु भएको छ । गाउँपालिकाभित्रका ११ सामुदायिक विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना गर्ने उद्येश्य अनुसार ६ सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना भइसकेको र वाँकी विद्यालयमा चाँडै कोष स्थापना गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

स्वर्गीय हरिशङ्कर उपाध्याय अक्षयकोषले मेलुङ गाउँपालिकाको लक्ष्मी माध्यमिक विद्यालय घ्याङसुकाटेकार, भूमेस्थान मावि घ्याङ, चर्नावती निमावि घ्याङ, त्रिभुवन मावि मेलुङ, सत्यश्वर मावि पवटी र कालिका मावि सुकाठोकरमा अक्षयकोष स्थापना गरिसकेको छ । प्रत्येक विद्यालयमा आफना पिताको नाममा एक लाख पाँच हजार राशिको अक्षयकोष स्थापना गरी रकम विद्यालयलाई हस्तान्तरण गरी सकेको र बाँकी विद्यालयसमेतमा चाँडै कोष स्थापना गरिने कोषका अध्यक्ष शर्माले बताउनुभयो । उक्त अक्षकोषबाट आउने रकमले विपन्न परिवारका बालबालिकालाई अध्ययन गर्न शैक्षिक सामग्री तथा छात्रवृत्ति प्रदान गरिने त्रिभुवन माध्यमिक विद्यालय मेलुङका प्रधानाध्यापक सन्तोष श्रेष्ठले बताउनुभयो ।

दोलखाकै पुरानो सामुदायिक विद्यालय अन्र्तगतको त्रिभुवन माध्यमिक विद्यालयमा भने एक लाख ५१ हजारको अक्षयकोषको स्थापना गरिएको छ । कोषको रकमको चेक कोषका अध्यक्ष शर्माले विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरि श्रेष्ठलाई हस्ताणतरण गर्नुभयो । सोही कार्यक्रमको अवसरमा समाजसेवी शर्माले त्रिभुवन माध्यमिक विद्यालयका १५ जना विपन्न तथा जेहेन्दार परिवारका विद्यार्थीलाई रु एक हजारको दरले छात्रवृत्ति प्रदान गर्नुका साथै शैक्षिक, खेलकूद सामग्री तथा विद्यार्थीलाई झोला प्रदान गर्नुभएको छ ।