१४ बैशाख २०८१, शुक्रबार

सन् २०२१ मा २० लाख यमनी बालबालिका भोकमरीको समस्यामा

yemen child
फाइल फोटो

द्वन्द्वग्रस्त मुलुक यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने देखिएको छ । संयुक्त राष्ट्रसंघीय विभिन्न निकायले शुक्रबार सार्वजनिक गरेका विवरणहरुका अनुसार उनीहरु ५ बर्षभन्दा कम उमेरका बालबालिकाहरु मात्रै हुन् ।

लामो समयदेखिको द्वन्द्वका कारण अति गरिव मुलुकमा पर्न गएको यमनमा द्वन्द्व र गरिवीका कारण बालबालिकाहरुले भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।

यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्रसंघीय निकायले उल्लेख गरेको छ ।

भोकमरीमा पर्ने र मृत्यु हुनेहरुको सङ्ख्या अघिल्लो बर्षकोभन्दा धेरै हुने अनुमान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

भोकमरीबाट प्रभावितहरूको सङ्ख्या बढेपछि उनीहरूका लागि सहयोगको पनि अभाव हुने आशङ्का गरिएको छ । यसले यमनमा मानवीय सहायतसम्वन्धी सहयोगमा पनि असर पर्ने अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रसंघीय अधिकारीहरुले १२ लाखभन्दा बढी गर्भवती तथा सुत्केरी महिलाहरूलाई पनि कुपोषणको खतरा रहेको बताएका छन् ।

“अहिले देखिएको तथ्याङ्कले यमनमा मानवीय सहायताको अभाव अझ बढी हुनसक्ने देखिएको छ, हरेक बालबालिकाले बाच्न र कुपोषणमुक्त हुनका लागि संघर्ष गर्नु पर्ने भएको छ,” विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बेस्लीले भन्नुभयो ।

उहाँले सार्वजनिक गरेको तथ्य तथा विवरणहरु खाद्य तथा कृषि संगठन, युनिसेफ र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा तयार परेका हुन् ।