fbpx
१६ फाल्गुन २०७७, आईतवार

कालिका पावरको ११ करोड आम्दानी

कालिका पावर कम्पनीले हालसम्म रु ११ करोड बढी आम्दानी गर्न सफल भएको छ । कम्पनीले विद्युत् बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । कम्पनीको आज यहाँ सम्पन्न १३औँ साधारणसभामा हालसम्म विद्युत् बिक्री गरेर रु ११ करोड २७ लाख ७३ हजार ३३६ आम्दानी गरेको जानकारी दिईएको हो । चालु आर्थिक वर्षको पुससम्ममा रु पाँच करोड ३६ लाख कमाएको छ ।

कम्पनीका सञ्चालक पदम गुरुङले कम्पनीको वित्तिय अवस्थामा सुधार आएको बताउनुभयो । उहाँका अनुसार प्रतिशेयरमा ९१ दशलमव ४६ प्रतिशतले वृद्धि भएको छ । विगतको तुलनामा ३ दशलमव १५ प्रतिशत बढी विद्युत् बिक्री गरेर आम्दानी गरेको छ । बिसं २०६४ फागुन २४ गते दरौदी कालिका हाइड्रो प्रालिका रुपमा दर्ता भएको संस्था बिसं २०७२ असोजदेखि पब्लिक कम्पनीमा परिणत भएको थियो । पब्लिक कम्पनीमा परिणतपछि कालिका पावर कम्पनी लिमिटेडका रुपमा काम तथा कारोबार गर्दै आइरहेको छ ।

कम्पनीले गोरखाको अजिरकोट गाउँपालिकाको मुच्चोक, सौरपानीमा दरौदी खोलाबाट २०७३ सालदेखि ६ मेगावट विद्युत्को व्यापारिकरुपमा उत्पादन गर्दै आएको छ । कालिका पावरले छिटै चार वटा जलविद्युत् आयोजनामा लगानी गर्ने गरी अध्ययन अगाडि बढाएको छ ।

कम्पनीका अध्यक्ष तथा प्रवन्ध सञ्चालक, पूर्वमन्त्री विक्रम पाण्डेले कालिका पावर देशकै ठूलो जलविद्युत् कम्पनीका रुपमा स्थापित गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “चार वटा परियोजना पाइपलाइनमा छन् ।” ऊर्जा क्षेत्रमा हुने लगानीले देशकै अर्थतन्त्रमा सघाउने भएकाले जलविद्युत् कम्पनीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न सरकार अग्रसर बन्नुपर्ने उहाँले बताउनुभयो ।

कम्पनीका सञ्चालक गुरुङले हाइड्रोपावरमा हुने लगानी दीर्घकालिन भएकाले तुरुन्तै प्रतिफल खोज्नुभन्दा भविष्यमा पाइने राम्रो प्रतिफलको प्रतीक्षा गर्नुपर्ने बताउनुभयो । सेयर मार्केटमा हाइड्रोवारको आकर्षण राम्रो भएकाले शेयर लगानी गर्ने बढेको बताउनुभयो । अर्को वर्षदेखि कालिका पावर कम्पनीले शेयरधनीलाई बोनस दिनसक्ने अवस्थामा पुग्ने बताउनुभयो ।