७ बैशाख २०८१, शुक्रबार

अब पहिराले पानी रोक्दैन !

Galkot dipboring
फाइल फोटो

बागलुङ बजारमा १६ किलोमिटर टाढाको मुहानबाट पानी आउँछ । काठेखोला गाउँपालिकाको रेशखोला र भुँदीखोला मुहानबाट आउने पानीले स्थानीयवासीको प्यास मेटाएको छ ।

हिउँदमा बिहान बेलुका पालो बाँडेर आउने पानी वर्षात्को समयमा आउने नआउने टुङ्गो हुँदैन । लामो दूरीको पाइप कहिले बाढीले बगाउने त कहिले पहिरोको समस्या । एक ठाउँमा पाइप फुटेपछि हप्ता दिन नआउने खानेपानीले बजारवासी त सधैँ समस्यामा रहदैँ आएको छ । यहाँ रहेको साविक धौलागिरि अञ्चलकै ठूलो अस्पताल, धौलागिरि अस्पतालले लामो समयसम्म पानीको हाहाकार बेहोर्दै आएको छ ।

अस्पतालका लागि जडान भएका धारामा आएको पानीले काम नचलेपछि धौलागिरि अस्पतालमा अहिले झण्डै ४० हजार लिटर पानी ट्याङ्करमार्फत ल्याउने गरिएको छ । जसको खर्च दैनिक १२ हजार आउँछ । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अस्पताल परिसर आसपासमै आवासको व्यवस्था छ । ८० परिवार अस्पतालको आवासमा बस्छन् ।

अस्पतालका विभिन्न विभाग, शौचालय र नियमित हातधुने धारामा मात्रै होइन, आवासमा समेत पानीको समस्या सधैँ रह्यो । अब भने रेशखोला र भुँदीखोलामा जाने पहिरो र हिउँदको समयमा मुहानमा पानी कम भएर सुकेको धाराले अस्पतालको दैनिकी नरोकिने भएको छ । पानीको समस्या समाधानका लागि धौलागिरि अस्पताल बागलुङमा बोरिङ प्रविधिबाट जमिनमुनीको पानी निकालेको छ । झण्डै २२० मिटर तल जमीनमुनिबाट अस्पतालका लागि आवश्यक पानी निकालिएको हो । बिहीबारसम्म ड्रिलिङ गर्दा जमीनमुनि पानीको राम्रो स्रोत भेटिएको अस्पताल विकास समितिले जनाएको छ ।

बोरिङ प्रविधिको पानी निकाल्दा अस्पतालले प्रयोग गर्दै आएको ट्याङ्करको पानी विस्थापित हुनेछ । सामाजिक विकास मन्त्रालयको सहयोगमा जमिनमुनिको पानी निकालेर प्रयोगमा ल्याउन लागिएको हो । पानी निकाल्ने काम सकिएकाले बाँकी संरचनाको काम अघि बढाइने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट शैलेन्द्र विक पोखरेलले बताउनुभयो । डिटिएच रक ड्रिलिङले केही दिन पहिलेबाट बोरिङ खन्ने काम थालेको थियो । कम्पनीले दुई साताभित्रै २२० मिटर जमिनमुनिबाट पानी निकालेको कम्पनीका सुपरभाइजर सूर्य चिमरीयाले बताउनुभयो ।

प्रतिसेकेण्ड २ दशमलव ७५ लिटर पानी निकाल्ने लक्ष्य छ । बोरिङ खन्नका लागि मात्रै मन्त्रालयले रु ४० लाख बजेट विनियोजन गरेको थियो । “खन्ने काम १९ लाखमा हुन्छ, त्यसपछि जेनेरेटर र प्लम्बिङको काम बाँकी रकमले गर्ने हो”, अस्पतालका लेखा अधिकृत झलक आचार्यले भन्नुभयो, “रकम अपुग नहोला भन्ने छ, कम भए मन्त्रालयमा लेखी पठाउँछौँ ।”

जमिन मुनिबाट आएको पानीलाई एक लाख लिटरको ट्याङ्कीमा जम्मा गरेर अस्पताल भवनमा वितरण गरिने छ । ट्याङ्की निर्माणका लागि मन्त्रालयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत रु ४० लाख बजेट विनियोजन गरेको छ । तत्कालका लागि मौजुदा ट्याङ्कीको प्रयोग गरेर पानीको वितरण शुरु हुने अस्पताल विकास समितिले जनाएको छ । जमीनमुनिको पानी तानेपछि अस्पतालमा रहेको पानीको समस्या समाधान हुने अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले बताउनुभयो ।

पहिले आठ इञ्च ड्रिलिङ गरेर १०० मिटर जमीनमुनि खनेपछि आकार घटाउने छ इञ्चको पाइप राखिएको कम्पनीले जनाएको छ । जमीन मुनिको पानी निकाल्दा अस्पताललाई वार्षिक २० लाख रुपैयाँ खर्च कटौती हुने सदस्य शर्माले बताउनुभयो । “ट्याङ्करको पानी ल्याउँदा वार्षिक लाग्ने खर्चले मात्रै बोरिङ खन्ने काम भएको छ”, उहाँले भन्नुभयो, “अरु खर्च हुन्छ तर दुई वर्ष पानी किन्ने खर्च मात्रै अहिले लगानी गर्दा २० वर्षलाई पानीले ढुक्क हुन्छ ।” तराईमा जमीन मुनिको पानी निकाल्ने काम सहज भए पनि पहाडमा भने चुनौतीपूर्ण मानिन्छ । यसअघि बागलुङकै चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले जमीन मुनिको पानी निकालेर प्रयोगमा ल्याएको थियो ।

समूहमा गाई पाल्नेलाई अनुदान

जैमिनी नगरपालिकाका अधिकांश गाउँ ‘लाहुरेको गाउँ’ भनेर चिनिन्छन् । बढ्दो महङ्गी, विलासी जीवन र समय सुहाउँदो रहनसहनको व्यवस्थापनका लागि यहाँका युवा माध्यमिक तहको पढाइसकेपछि वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्छन् ।

युवा विदेशिदा यहाँको खेतीयोग्य जमीन बाँझो छ । ठूला फाँटमा सिरु फुल्न थालेको छ । नगरका दशवटै वडाबाट विदेश पलायनको अवस्था जानकारी पाएको नगरपालिकाले बाँझो जमीनको उपयोग र युवालाई स्वरोजगार बनाउन कृषि र पशुपालनमा नयाँ अभ्यास शुरु गरेको छ ।

नगरपालिकाले विदेश जानेक्रम रोकेर गाउँमै रोजगारी सिर्जना गर्न ‘नगरप्रमुख कृषि परियोजना’ र नगरप्रमुख पशु विकास परियोजना’ सञ्चालनमा ल्याएको छ । परियोजनाअन्तर्गत चालू आर्थिक वर्षमा तीन सामूहिक गाई फार्म र पाँच सामूहिकखेती समूह तयार गरिनेछ । “किसानलाई सामूहिक उत्पादनमा प्रेरित गर्ने योजना हुन्, जसका कारण रोजगारी र उत्पादन दुवै सिर्जना हुन्छ”, पशुशाखा प्रमुख कृष्णप्रसाद ढकालले भन्नुभयो, “नगरपालिकाले बनाएको मापदण्ड पूरा गर्ने समूह तथा सहकारीले अनुदान पाउँछन् ।”

तीन वटा सामूहिक पशुपालन फार्मका लागि नगरपालिकाले रु ५४ लाख बजेट विनियोजन गरेको छ । पचास रोपनी जमीन, २५ जनाको समूह र २५ वटा गाई खरीद गरेपछि समूहलाई नगरपालिकाले रु १८ लाख अनुदान दिने कार्यविधि छ । समूहले रु ३० लाखको परियोजना बनाउनुपर्छ । रु १२ लाख लगानी समूह आफ्नै हुनुपर्ने व्यवस्था छ । जसका लागि फर्म दर्ता भएको हुनुपर्छ भने १० वर्षको जग्गा सम्झौता र मुनाफामुखी उत्पादन पक्का गरिएको कार्ययोजना नगरपालिकाले मागेको छ ।

“अधिकतम किसानको सहभागिता होस् भन्ने हाम्रो मान्यता हो”, नगरप्रमुख इन्द्रराज पौडेलले भन्नुभयो, “सामूहिकरुपमा कृषि र पशुपालन गर्नेको सङ्ख्यामा वृद्धि गर्दै समृद्ध नगरपालिकाको सपना साकार पार्नु छ ।” शाखाले दुईपटकसम्म किसानबाट प्रस्ताव मागेको छ । दुई वटा समूहले प्रक्रिया पूरा गरेर अनुदान लिने तयारीमा रहेको पशुशाखा प्रमुख ढकालले बताउनुभयो । अर्को परियोजनाका लागि समूह निर्माण र तालीम तथा गोष्ठीको काम भइरहेका छन् । समूहमा गाई पाल्नेका लागि आवश्यक तालीमको व्यवस्था नगरपालिकाले गर्नेछ ।

चालू वर्षको योजनालाई निरन्तरता दिँदा जैमिनी अबको दुई वर्षमा दूधमा आत्मनिर्भर बन्छ । अहिले पनि यहाँका किसानले दूध उत्पादन र बिक्री गर्दै आइरहेका छन् । रैथाने बालीको व्यावसायिक उत्पादनका लागि नगरले नगरप्रमुख कृषि परियोजना लागू गरेको छ । चालू आर्थिक वर्षमा पाँच वटा समूहले ५० रोपनी जमीनमा सामूहिकखेती गर्ने नगरपालिकाले जनाएको छ । रैथानेबालीको सामूहिक खेती गर्ने किसानका लागि प्रतिसमूह पाँच लाख रुपैयाँ अनुदान नगरपालिकाले दिनेछ ।

न्यूनतम पाँच जना व्यक्तिको समूह बनाएर खाद्यान्न बाली लगाउने गरी यो परियोजनामा पाँच वटा समूह छनोट हुनेछन् । दुवै परियोजनामा बाँझो जमीन प्रयोग गर्नेलाई प्राथमिकतामा राखेको कृषि शाखाले जनाएको छ ।