६ बैशाख २०८१, बिहीबार

आन्तरिक पर्यटकले जुरमुराउँदै किचकबध

jhapa

कोडिभ–१९ का कारण सुनसान बनेको झापाको किचकबध आन्तरिक पर्यटकका कारण पुनः जुरमुराएको छ । महाभारतकालीन कथासँग जोडिएको नेपालको महत्वपूर्ण पर्यटकीयस्थल किचकबध वनभोज खान आउने र घुम्न आउने आन्तरिक पर्यटकका कारण जुरमुराएको हो ।

वरिपरि गहिरो खेतीपाती हुने कोसौँ टाढासम्मको उर्वर फाँटको बीचमा अग्लो डाँडामा रहेको किचकबधस्थलमा प्रदेश सरकार र स्थानीय सरकारको पहलमा किचकबध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल संरक्षण समितिले वनभोजस्थल, बाल उद्यानसहितको बगैँचा निर्माण गरेको छ । यहाँ आउने पर्यटकको ध्यान बाल उद्यानभित्र राखिएको गैँडा र हात्तीको प्रतिमाले समेत खिच्ने गरेको समितिका अध्यक्ष दिलबहादुर थेबेले बताउनुभयो ।

दैनिक १०० देखि २०० जनासम्म आन्तरिक पर्यटक आउन थालेको बताउँदै अध्यक्ष थेबेले भन्नुभयो, “अब कोरोनासँग मान्छे डराउन छाडेछन्, चहलपहल बढ्यो । शनिबार त चार÷पाँच सयसम्म आन्तरिक पर्यटक वनभोज खान र घुम्न आउँछन् ।”

चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुर नगरपालिका वडा नं २ मा १० बिघा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा दुई हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाडाकुँडा र इँटाहरु पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ ।

हरेक वर्ष माघ शुक्ल पूर्णिमाका दिन यहाँ धार्मिक मेला लाग्दै आएको छ भने मेलामा सबै धर्म र सम्प्रदायका मानिसको घुइँचो लाग्ने गरेको छ तर यस वर्ष भने कोभिड–१९ कारण मेला नलगाउने उहाँले बताउनुभयो । प्राकृतिक दृश्यावलोकनका लागि समेत सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकबध परिसरमा सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर छ । दक्षिणी भागमा धर्मशालाका लागि बनाइएको दुईतले भवनमा प्रहरीको अस्थायी बिट र ब्यारेक छ । किचकबधस्थलमा हाल भीमसेनले किचकलाई बध गरिरहेको दुईवटा मूर्ति छन् ।

महाभारतकालीन कथाको किंवदन्ती जोडिएको झापाको महत्वपूर्ण स्थल भएको हुँदा किचकबधमा पर्यटकीय आकर्षणयुक्त वातावरण बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष ध्यान दिइरहेको भद्रपुर नगरपालिका–२ अध्यक्ष भीम केरुङले बताउनुभयो ।