१६ चैत्र २०८०, शुक्रबार

‘गाउँका सिंहदरबार’ आफ्नै भवन बनाउँदैछन्

office

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा असहज भएपछि तनहुँ जिल्लाका स्थानीय तहले भवन निर्माणलाई प्राथमिकता दिएका छन् । भाडामा वार्षिकरूपमा लाखौँ रकम खर्च हुने र सेवा प्रवाहमा समेत असहज भएपछि जिल्लाका स्थानीय तहले प्रमुख प्रशासनिक र वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिएका हुन् ।

जिल्लाका देवघाट, आँबुखैरेनी, म्याग्दे, घिरिङ, ऋषिङ गाउँपालिकाले प्रमुख प्रशासकीय भवन निर्माण गरिरहेका छन् । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, भीमाद नगरपालिका, भानु नगरपालिकाले भने आफ्नै भवनबाट सेवा दिइरहेका छन् । भीमाद नगरपालिकाले आफ्ना भवनका अतिरिक्त भाडामा लिएको घरबाट र भानु नगरपालिकाले आफ्नै भवनको अतिरिक्त डुम्रे भन्सार शहरी आयोजनाको भवनबाट कार्यालय सञ्चालन गरिरहेको छ ।

देवघाट गाउँपालिकाले वडा नं ५ क्युदीमा प्रशासनिक भवन निर्माण गरिरहेको छ । प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाका अनुसार सङ्घ र प्रदेश सरकारबाट बजेट प्राप्त भएपछि गाउँपालिकाले प्रशासकीय भवन निर्माणको काम शुरु गरेको छ । भाडाको घरमा सञ्चालन हुँदै आएकामा भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाह सहज हुने उहाँले बताउनुभयो ।

रु सात करोड ५० लाख ७६ हजार एक सय १७ को अनुमान गरिए पनि निर्माण कम्पनीसँग रु पाँच करोड ४१ लाख ४९ हजार पाँच सय ८० मा सम्झौता भएको छ । भवन निर्माणको ठेक्का रविना÷अविसा जेभी काठमाडौले पाएको छ । निर्माण कम्पनीसँग गत असार १९ गते सम्झौता भएको थियो । विसं २०७९ असार १८ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने म्याद छ ।

गाउँपालिकाले हाल दुई वटा घर भाडामा लिएर सञ्चालन गर्दै आएको छ । बिजुली, पानीसहित गाउँपालिकाले कार्यालय सञ्चालनका लागि मासिक रु ८० हजार भुक्तानी गर्दै आएको छ । “गाउँपालिकाको आफ्नै भवन नहुँदा भाडामा कार्यालय सञ्चालन गर्दा समस्या भइरहेको छ, भवन निर्माण भएपछि सेवा प्रवाह गर्न पनि सहज हुन्छ,” उहाँले भन्नुभयो, “साथै खर्च पनि जोगिन्छ ।”

भवन निर्माणका लागि सङ्घीय सरकारले रु दुई करोड र प्रदेश सरकारले रु एक करोड सहयोग गरेको छ भने गाउँपालिकाले चालु आर्थिक वर्षमा रु दुई करोड विनियोजन गरेको छ । अपुग रकम आगामी वर्ष पनि विनियोजन गरिने गाउँपालिकाले जनाएको छ ।

भाडामा सञ्चालन हुँदै आएको तनहुँको म्याग्दे गाउँपालिकाले पनि आफ्नै भवन निर्माण शुरु गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै भाडामा सञ्चालन हुँदै आएको गाउँपालिकाले म्याग्दे गाउँपालिका–४ मा भवन निर्माण शुरु गरेको छ ।

दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको भवन रु दश करोड ३५ लाख ६९ हजार ८ सय ८४ को लागतमा निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा रु ६ करोड ८५ लाख ५० हजार २५ र आगामी आर्थिक वर्षमा रु तीन करोड ५० लाख १९ हजार आठ सय ५८ को काम हुनेछ । दुई भवन निर्माणका लागि स्वीकृत लागत रकममध्ये यो वर्ष गाउँसभाको निर्णय बमोजिम रु तीन करोड, जिल्ला समन्वय समिति कोषमार्फत् प्राप्त हुने रकम, आन्तरिक स्रोत र आगामी आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारमार्फत् प्राप्त हुनेछ ।

चालु आर्थिक वर्षमा प्रोटेक्सन वक्र्स, जमिन मिलाउने, कालोपत्रबाहेक बाटो तयार गर्ने, नाली निर्माण तथा वायोइञ्जिनीयरिङका काम हुनेछन् । आगामी वर्ष तेस्रो तल्ला भवन निर्माण, बाटो कालोपत्र र गेट तथा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ । भवन निर्माणका लागि लालपुर्जाभित्रको कित्ता नं ५२ क्षेत्रफल एक रोपनी एक आना तीन पैसा तीन दाम जग्गा निःशुल्क प्राप्त भएको छ भने ८० रोपनी १४ आना तीन पैसा जमिन सार्वजनिक रहेको छ ।

तनहुँको घिरिङ गाउँपालिका भवनविहीन अवस्थामा छ । गाउँपालिकाका पाँच वटै वडा कार्यालयको आफ्नै भवन छैन । आफ्नै भवन नहुँदा गाउँपालिकालाई सेवा प्रवाहमा समस्या भइरहेको छ । घिरिङ गाउँपालिकाको प्रशासनिक भवन पनि भाडाको घरमा सञ्चालनमा छ । भाडाको घरमा कार्यालय सञ्चालन गर्नुपर्दा सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न कठिनाई भइरहेको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताउनुभयो ।

गाउँपालिकाले निर्माण शुरु गरेको वडा नं २, ३ र ५ को भवन निर्माण सम्पन्न हुने चरणमा छ । वडा नं १ को निर्माण अन्तिम चरणमा पुगेको छ भने वडा नं ४ को थालनी हुने क्रममा रहेको रानाले बताउनुभयो । “गाउँपालिकाले चालु आर्थिक वर्षमा प्रशासनिक भवन र सबै वडाका भवन निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ”, रानाले भन्नुभयो, “आफ्नै भवन बनेपछि सेवा प्रवाहमा सहज हुन्छ ।

गाउँपालिकाको प्रशासनिक भवन निर्माण पनि शुरु गरिसकेको छ । त्यसका लागि गाउँपालिकाले रु एक करोड र प्रदेश सरकारले रु एक करोड विनियोजन गरेको छ । पहिलो चरणमा रु दुई करोडको लागतमा चालु आर्थिक वर्षभित्रै पहिलो तला निर्माण सम्पन्न गरिनेछ । भवन निर्माणको ठेक्का नवलपुरस्थित सम्राट बिल्डर्स प्रालिले पाएको छ । रु ९ करोड ११ लाखको लागतमा बन्ने भवनको दोस्रो र तेस्रो चरणको काम आगामी आर्थिक वर्षमा गरिनेछ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रमुख प्रशासकीय भवन र वडा कार्यालयका भवन निर्माण कार्यलाई प्राथमिकता दिएको छ । आफ्नै भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ गाउँपालिकाले प्रमुख प्रशासकीय भवन र वडा कार्यालयका भवन निर्माणलाई प्राथमिकता दिएको हो ।

सोही बमोजिम निर्माण शुरु भएको प्रमुख प्रशासकीय भवनको काम ८० प्रतिशत सम्पन्न भएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको काम फागुन मसान्तभित्र सम्पन्न हुने पमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । रु तीन करोड ७७ लाखको लागतमा निर्माण शुरु भएको भवनमा रु एक लाख २५ हजार खर्च भइसकेको छ । “फागुन मसान्तभित्र निर्माण सकेर नयाँ भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य राखेका छौँ”, पोखरेलले भन्नुभयो ।

गाउँपालिकाले हाल कच्ची भवनबाट सेवा प्रवाह गरिरहेको छ । “साँघुरो भवनबाट सेवा प्रवाह गर्दा असहज भइरहेको स्थितिमा नयाँ भवन बनेपछि सहज हुनेछ,” उहाँले भन्नुभयो । नयाँ भवन निर्माण सम्पन्न भएपछि हाल कार्यालय रहेको ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्ने सोच राखिएको छ । त्यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । “नपुग रकम आगामी वर्ष विनियोजन गर्छौं, कच्ची भवन भत्काएर बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्ने गाउँपालिकाको सोच हो”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले विभिन्न वडा कार्यालयको भवन निर्माणलाई समेत तीव्रता दिएको छ । सोही बमोजिम नै वडा नं १ र ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं ४ को निर्माणाधीन छ । त्यस्तै वडा नं २ को भवन निर्माणका लागि जग्गा प्राप्ति भएको छ भने वडा नं ६ को डिपिआर तयार भएको छ ।

वडा नं १ को भवन रु ७४ लाख ४२ हजार सात सयको लागतमा सम्पन्न भएको छ । वडा नं ४ को भवन रु ५२ लाख ४२ हजारमा निर्माणाधीन छ । भवनको काम ७० प्रतिशत सम्पन्न भएको छ । वडा नं ५ को भवन रु ५३ लाख ५० हजारमा निर्माण सम्पन्न भएको छ । वडा नं ६ का लागि रु ७० लाख बजेट अनुमानित गरिएको छ । ऋषिङ गाउँपालिका वडा नं ७ को पोखरीभन्ज्याङमा प्रमुख प्रशासकीय भवन निर्माण भइरहेको छ । रु तीन करोड ६१ लाखको लागतमा भवन निर्माण भइरहेकामा निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।