३ कार्तिक २०७८, बुधबार

अध्यक्ष तिमिल्सिनाद्वारा दासढुङ्गा पुलको निरीक्षण

KA Bharatpur ganeshtimilsina

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चितवन र तनहुँ जोड्ने दासढुङ्गा पुलको निरीक्षण गर्नुभएको छ । तनहुँको देवघाटमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका तिमिल्सिनाले पुलको निरीक्षण गर्नुभएको हो ।

उहाँले सो अवसरमा पुलको छेउबाट निर्माण गर्न लागिएको सडकको समेत जानकारी लिनुभयो । सडक निर्माणका लागि डिजाइन बनिसकेकाले छिट्टै काम शुरु गरिने सडक डिभिजन भरतपुरका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले पुलमा भत्किएको क्षेत्रका तत्काल मर्मत गर्न आग्रह गर्नुभयो । विसं २०७१ मा सो पुल निर्माण सम्पन्न भएको थियो । यस्तै अध्यक्ष तिमिल्सिनाले दासढुङ्गाको तनहुँ क्षेत्रमा निर्माण भइरहेको मदन–आश्रित बहुआयामिक स्मृति उद्यानको समेत अवलोकन गर्नुभयो ।

उहाँले दासढुङ्गाको विकासका लागि सबै क्षेत्रले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले समेत यसलाई प्राथमिकतामा राखेको भन्दै स्थानीयस्तरबाट विशेष पहल लिनुपर्ने बताउनुभयो । उद्यान निर्माणमा भइरहेको प्रगतिबारे निर्माण समितिका अध्यक्ष बाबुराम अधिकारीले अध्यक्ष तिमिल्सिनालाई जानकारी गराउनुभएको थियो ।