fbpx
२४ फाल्गुन २०७७, सोमबार

कोभिड–१९ का कारण सुस्ताएको पदयात्रा पर्यटनले गति लिँदै

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण थलिएको अन्नपूर्ण आधार शिविर क्षेत्रको पदयात्रा पर्यटनले गति लिन थालेको छ । अन्नपूर्ण आधार शिविरको मुख्य प्रवेशद्वार जस्तै रहेको पर्यटकीय गाउँ घान्द्रुक यही माघ १ गतेदेखि पर्यटकका लागि खुला गरिएसँगै पछिल्ला दिनमा यस क्षेत्रको पदयात्राका लागि जाने आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको हो ।

शुरुमा अन्नपूर्ण आधार शिविर( ४,१३० मिटर) जानका लागि छोम्रोङ पर्यटन व्यवसायी समितिले पिसिआर रिपोर्ट अनिवार्य हुने भने पनि कोरोना सङ्क्रमणको दर घट्दै गएको र जनजीवन सामान्यावस्थामा फर्किँदै गरेको अवस्थालाई दृष्टिगत गरी पिसिआर रिपोर्ट नचाहिने निर्णय गरेको थियो । पछिल्ला दिनमा पदयात्राका लागि आधार शिविर क्षेत्रमा पर्यटक पुग्ने गरेको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिनुभयो ।

पदमार्गअन्तर्गत देउरालीसम्म होटेल पूर्णरूपमा खुलिसकेको र फागुनको पहिलो सातादेखि अन्नपूर्ण आधार शिविर तथा माछापुच्छ«े आधार शिविरका होटेल पनि खुला गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । “कोरोनाका कारण विगतमा घर फर्किएका कामदार पनि फर्कने क्रममा छन््”, उहाँले भन्नुभयो, “कामदार फर्केपछि अन्य आवश्यक व्यवस्थापन गरी आधार शिविरका होटेल पनि सञ्चालनमा आउनेछन् ।” हालका लागि आधार शिविर जाने मार्गका देउरालीबाट माछापूच्छ्रे आधार शिविर दुई घण्टा र अन्नपूर्ण आधार शिविर थप आधा घण्टामा पुग्न सकिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेका अवस्थामा अन्नपूर्ण आधार शिविरसम्म पुगी देउराली गएर बास बस्न सकिन्छ । पर्यटन व्यवसायीले आधार शिविरका होटेल सञ्चालनमा नआउँदासम्म देउरालीबाट आधार शिविरसम्म जानका लागि स्थानीय पथप्रदर्शक व्यवस्थासमेत गरेका छन् ।

हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमाल अन्नपूर्णको काखमा गरिने गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रामध्ये पर्छ ।सर्वप्रथम सन् १९५० जून ३ मा फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम(८,०९१ )को सफल आरोहण गरेसँँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । सो सफलतासँगै सन् १९५३ मे २९ मा सर्वप्रथम तेन्जिङ्नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

अन्नपूर्ण पदयात्रा मार्गअन्तर्गत अन्नपूर्ण आधारशिविरको पदयात्रा मार्गका योजनाकार कर्णेल जिम्मी रवर्टस(बेलायत) हुन् । उनले सन् १९६५÷६६ मा अन्नपूर्ण आधारशिविरको पदयात्रा मार्गबारे दैनिकी लेखेका थिए । समुद्र सतहदेखि चार हजार १३० मिटरमा अवस्थित अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गको पहिलो यात्री एरिक सिप्टन (१९६६)हुन् । उनले गरेको पदयात्रासँगै यस क्षेत्रको पदयात्रामा आकर्षण बढ्दै गएको हो । तथ्याङ्कानुसार नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पदयात्राका लागि नै आउने गर्छन् । त्यस्तै १० प्रतिशत हिमाल आरोहण र २० प्रतिशत अन्य पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गर्छन । पछिल्ला वर्षमा पदयात्री पर्यटकको आकर्षण बढिरहेका अवस्थालाई दृष्टिगत गरी उक्त मार्गमा सुविधासम्पन्न होटेल पनि सञ्चालनमा आएका छन् ।

आजभन्दा चार दशकअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडी बस्नुपथ्र्याे । पछिल्लो तीन दशकयता पदयात्रा मार्गमा पर्याप्त होटल नरहे पनि यहाँका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा हाल २६ होटेल सञ्चालनमा रहेको अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिनुभयो ।

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको हालसम्मको निर्धारित मापदण्डानुसार प्रत्येक होटलमा छ कोठाका दरले १५६ कोठा छन् ।

अन्नपूर्ण आधार शिविर र यहाँको पर्यटकीय महत्वलाई उजागर गर्न अन्नपूर्ण सेञ्चुरी समितिले वार्षिक रुपमा अन्नपूर्ण म्याराथनसमेत आयोजना गर्दै आएको छ । प्रत्येक वर्ष जून ३ (अन्नपूर्ण डे) का अवसरमा गरिने म्याराथनमा विदेशी धावकसमेत सहभागी बन्ने गरेका छन् । अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजकसमेत रहनुभएका गुरुङले आगामी जून ३ मा गरिने म्याराथन कोरोनाको अवस्थाका कारण गर्ने वा नगर्ने अझै स्पष्ट भइनसकेको जानकारी दिनुभयो ।

घान्द्रुकबाट पदयात्रा गर्दै आधार शिविरसम्म पुग्न विदेशी पर्यटकले सामान्यतः चार र स्वदेशी पर्यटकले तीन दिन समय छुट्याउने गरेका छन् । पदमार्ग क्षेत्रमा बनेका २६ होटेलका १५६ कोठाले पर्यटकको चाप थेग्न नसक्ने वास्तविकतालाई दृष्टिगत गरी होटेलको क्षमता अभिवृद्धि गराउने तथा व्यवस्थित गर्नेतर्फ ध्यान दिइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।
केही वर्षयता पदयात्रामा आउने विदेशी पर्यटकलाई लक्ष्य गरी यहाँका होटेलले स्थानीय दालभात, ढिँडो जस्ता लेकाली खानाका अतिरिक्त विदेशी खानाका परिकार पनि खुवाउने गरेका छन् । पदयात्रा पर्यटनमा आउने पर्यटकलाई प्रदान गरिने सेवासुविधाका सम्बन्धमा २०४३ सालमा एक्याप स्थापना भएयता विभिन्न तालीमसमेत प्रदान गरिदै आइएको छ ।

भेडीगोठबाट शुरु पदमार्ग क्षेत्रको पर्यटन आधुनिकतामा प्रवेश गरे पनि यहाँ विद्युतीकरणलगायत धेरै समस्या समाधान गर्नुपर्ने देखिएको छ । पदयात्रासँगै यहाँबाट देखिने अनेक किसिमका दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । पदयात्रा मार्गकै देउरालीको पूर्वतर्फको पहाडमा अवस्थित गौतम बुद्धको आकृति, दोभान र हिमालयका बीचमा अवस्थित अतिप्राचीन पूजनीयम बराह र त्यहाँबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्ड जस्ता स्थललाई थप व्यवस्थित गर्दै लैजानुपर्ने स्थानीयवासी बताउँछन् ।

पदयात्रा पर्यटनमा पछिल्ला समयमा बढ्दै गएको आकर्षणले आफूहरूलाई थप उत्साहित बनाएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताउनुभयो । “यही चैत –वैशाखदेखि शुरु हुने पदयात्राको यामलाई लक्ष्य गरी हामी आधार शिविर र उक्त मार्गका होटेललाई थप व्यवस्थित बनाउने तयारीमा लागेका छौं”, उहाँले भन्नुभयो, “आधार शिविरका होटेलसमेत सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकलाई थप सहज हुनेछ ।”