७ बैशाख २०८१, शुक्रबार

भेडाबाख्रामा रोग देखिएपछि पिपिआरविरुद्धको खोप

bhedapalan

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले पालेका खसीबाख्रा तथा भेडामा पिपिआर रोग देखिन थालेपछि नियन्त्रण गर्न सो विरुद्धको खोप दिन अभियान शुरु गरिएको छ । हरेक वर्ष किसानले पालेका खसीबाख्रा तथा भेडालाई पिपिआरको महामारीले सताउन थालेपछि गाउँपालिकाका सातवटै वडामा पिपिआरविरुद्धको खोप दिन साप्ताहिक अभियान शुरु गरिएको हो ।

राष्ट्रिय पिपिआर दिवसअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलसँगको सहकार्यमा गाउँपालिकाले खसीबाख्रा र भेडालाई पिपिआरविरुद्धको खोप दिन थालिएको गाउँपालिकाको कृषि शाखा संयोजक सरगम बुढाथोकीले बताउनुभयो । हाल गाउँपालिकाका सातवटै वडामा पशु प्राविधिकले खसीबाख्रा र भेडालाई पिपिआरविरुद्धको खोप दिइरहेका छन् ।

महामारीका रूपमा फैलिन सक्ने पिपिआर रोगबाट खसीबाख्रा र भेडालाई जोगाउन पिपिआरविरुद्धको खोप दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “गत वर्ष गाउँपालिकाभित्रका किसानले पालेका करिब ३०० भेडाबाख्रा मरेका थिए”, उहाँले भन्नुभयो, “यस वर्ष रोग देखिनुभन्दा पहिले नै १२ हजार खोपको व्यवस्था गरेर खसीबाख्रा र भेडालाई खोप दिन अभियान शुरु गरिएको हो ।”

पिपिआरविरुद्धको खोप सातवटै वडामा सात दिनसम्म सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । हप्ता दिनको अवधिमा खसीबाख्रा तथा भेडापालक किसानले सम्बन्धित वडाका जनप्रतिनिधि एवं पशु प्राविधिकसँग समन्वय गरेर खसीबाख्रा र भेडालाई खोप दिनसक्ने गाउँपालिकाले जनाएको छ ।

भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालयले पिपिआरविरुद्धको खोप निःशुल्क उपलब्ध गराएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । गत वर्ष पिपिआर रोगका कारण वडा नं २ डाँडागाउँका दीपेन्द्र श्रेष्ठको सुनगाभा कृषि तथा बाख्रा फार्मको एक बोयर बोकासहित २२ बाख्रा मर्दा खोर नै रित्तिएको थियो ।

यसअघि जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेको बाख्रा अज्ञात रोगले मर्न थालेपछि किसान चिन्तित थिए । ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गाह्रो हुने, छेर्नेलगायतका लक्षण देखिएको केही दिनमै बाख्रा मर्ने गरेको किसानले बताएका थिए ।

अज्ञात रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानको खोर नै रित्तिएको स्थानीय बासिन्दाले बताएका छन् । अज्ञात रोगले धमाधम बाख्रा मर्न थालेपछि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका किसान सबैभन्दा बढी मारमा परेका छन् । दश स्थानीय तह रहेको जिल्लाका विभिन्न ठाउँका किसानले पालेका बाख्रामा गत वर्ष पनि अज्ञात रोग फैलिएको थियो । स्थानीय तह लागू भएपछि जिल्लाका अधिकांश किसानले व्यावसायिकरूपमा बाख्रापालन शुरु गरेका छन् ।