१३ बैशाख २०८१, बिहीबार

राष्ट्रिय महिला लिगः सावित्राको आठ गोलको मद्दतमा एपीएफ विजयी

1612795845147520360 2438446479635574 431

राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब सावित्रा भण्डारीको आठ गोलको मद्दतमा विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोल अन्तरले पराजित गरेको हो । आजको खेलमा पनि एपीएफका लागि भण्डारी एक्लैले आठ गोल गर्दै उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो । जारी लिगमा एपीएफ क्लब हालसम्म अपराजित रहेको छ । एपीएफ सात खेलबाट २१ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा कायमै छ । सात खेलमा सबैमा हार बेहोर्दै चौदण्डीगढी अङ्कविहीन अवस्थामा छ ।

एपीएफका लागि भण्डारीले खेलको चौथो मिनेटमै गोल गर्नुभएको थियो । उहाँले खेलको १८औँ र ३६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गर्नुभयो । भण्डारीले खेलको ४३औँ, ५३औँ, ५६औँ, ७२औँ र ८७औँ मिनेटमा गोल गर्नुभयो । यस्तै एपीएफका लागि अनिता केसीले खेलको २४औँ तथा ४०औँ, कप्तान अनिता बस्नेतले पहिलो हाफको इन्जुरी समय र ६४औँ मिनेटमा गोल गर्नुभयो । यस्तै अनु लामाले ७६औँ तथा रविना गोलेले खेलको ७९औँ मिनेटमा गोल गर्नुभयो । लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब रहेको छ । आर्मीले सात खेलमा १५ अङ्क जोडेको छ । वालिङ लिगको तेस्रो स्थानमा छ । वालिङको सात खेलमा ११ अङ्क छ । पुलिस आठ अंकका साथ लिगको पाँचौँ स्थानमा छ ।