१३ बैशाख २०८१, बिहीबार

सिरुबारीमा ११ महिनापछि खुल्यो घरबास

IMG 6667

कोभिड– १९ का कारण बन्द पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीलगायतका होमस्टे (घरबास) ११ महिनापछि सञ्चालनमा आएका छन् । घरबास एशोसिएशन नेपालले आज पोखरामा पत्रकार सम्मेलन गरी स्याङ्जाका होमस्टे पाहुनाको आतिथ्यताको लागि तयार रहेको जानकारी दिएको हो । सिरुबारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङले जताततैका पर्यटकीय गन्तव्य खुलिसकेको अवस्थामा अब नेपालको पहिलो पर्यटकीय गाउँ सिरुबारीलगायतका घरबास पनि पाहुनालाई न्यानो आतिथ्यताले स्वागत गर्न आतुर रहेको बताउनुभयो ।

उहाँले कोभिड –१९ का कारण ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन घरबास सञ्चालन गर्न आवश्यक रहेको औल्याउनु भयो । पत्रकार सम्मेलनमार्फत गुरुङले पर्यटकलाई सिरुबारीलगायतका घरबासमा आउन आग्रह गर्नुभयो । उहाँका अनुसार स्याङ्जाामा ४९ सामुदायिक होमस्टे रहेको छ भने एक रातमा दुई हजार पाहुनालाई राख्न सकिन्छ । सिरुबारीमा मात्र २३ वटा घरमा होमस्टे सञ्चालनमा छन् ।

एशोसिएशनका अध्यक्ष मोहन खनालले प्राकृतिक हिमशृङ्खला, सूर्योदयको सुन्दर दृश्यसँगै गुरुङ, मगर, नेवार र भुजेल जातिको सांस्कृतिक गतिविधिलाई नजिकबाट नियाल्न र गाउँलेको न्यानो आतिथ्यतमा रमाउन स्याङ्जाका होमस्टे उत्कृष्ट रहेको बताउनुभयो । उहाँका अनुसार कोभिड अगाडि उक्त स्थानमा वार्षिक करीब ११ हजार पाहुना पुग्ने गरेका तथ्याङ्क छ । स्याङ्जा पर्यटन विकास समितिका अनन्तकुमार श्रेष्ठले सिरुबारीलगायतका होमस्टे सञ्चालनसँगै हरेक महिना एक एक वटा कार्यक्रम सञ्चालन गर्दै जाने बताउनुभयो ।

उहाँले माघ २७ गते सिरुबारीको आँधिखोला गाउँपालिका–ं १ मा गाउँपालिका परिचयात्मक भ्रमण, फागुन २७ गतेदेखि २९ गतेसम्म बालिङ नगरपालिका– ४ कुलमान घिसिङ झरनामा क्यानोनिङ महोत्सव तथा मैत्रीपूर्ण प्रतियोगिता र चैत २७ गते सिरुबारीमा होमस्टेमा कोभिड –१९ को प्रभावको बारेमा अन्तक्र्रिया कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा आन्तरिक पर्यटन पुनरुत्थानका संयोजक अग्नि कँडेलले गाउँ पर्यटनको अग्रणी सिरुबारी देशकै नमूना होमस्टे भएकाले यहाँबाट अन्य होमस्टेले धेरै कुरा सिक्न सक्ने बताउनुभयो । उहाँले पछिल्लो समय आन्तरिक पर्यटकका कारण ग्रामीण पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताउँदै पर्यटन प्रवद्र्धनका लागि सबैले आ–आफ्नो ठाउँबाट जागर चलाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले पछिल्लो समय होमस्टेमा शहरबजारबाट लगिएका खानेकुराले स्थानीय स्वादलाई विस्थापित गरिरहेको उल्लेख गर्दै घरबासमा स्थानीय उत्पादनमा जोड दिएर पाहुनालाई आर्कषित गर्नुपर्ने उहाँको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड– १९ का कारण मानिस शान्त र प्राकृतिक वातावरणको खोजीमा रहेको उल्लेख गर्दै गाउँ पर्यटनमा आर्कषण बढेको बताउनुभयो । उहाँले कृषि र पर्यटनलाई जोडेर स्थानीय उत्पादनको स्वाद र स्थानीय रहनसहन संस्कृतिलाई घरबास कार्यक्रममा बढी जोड दिनुपर्ने बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले ग्रामीण पर्यटन प्रवद्र्धन गर्न र घरबासको बारेमा सही सूचना दिन पर्यटन बोर्डले मोबाइल एप्स तयार गर्न लागेको जानकारी दिनुभयो ।