८ बैशाख २०८१, शनिबार

शिक्षामा आमूल परिवर्तन ल्याउन आवश्यक : मन्त्री श्रेष्ठ

krishna gopal shrestha

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

शिक्षक सेवा आयोगले आज यहाँ आयोजना गरेको ‘शिक्षक सेवा दिवस २०७७’ को उद्घाटन गर्दै उहाँले परम्परागत शिक्षा नीति, यहाँको अस्थिरता, अराजकता, अन्यौल र भ्रमको बादलभित्र सबै मडारिएको आफूले पाएको बताउनुभयो ।

कहीँ शिक्षकभन्दा विद्यार्थी बढी र कहीँ शिक्षक नै नपुग्ने असमानतालाई चिर्दै उहाँले यसलाई आमूल परिवर्तन गर्ने विधि पहिल्याउनु आवश्यक रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “मन्त्रालयमा अस्थायी, करार, उमेर नाघेका, राहत, इसिडी, स्वयंसेवक शिक्षकको समस्या त छदैछ, फेरी अहिले द्वन्द्व पीडित शिक्षकको समस्या थपिएको छ, यी सबै समस्याको एक मुष्ठ हल खोज्नुपर्छ ।”

शिक्षक सेवा आयोग सक्षम शिक्षक पहिचान गर्ने मुहान भएकाले मुहान नै शुद्ध हुनुपर्छ भन्दै उहाँले सक्षम, जिम्मेवार र नैतिकवान शिक्षकको आवश्यकतालाई ध्यान दिँदै सक्षम र योग्य शिक्षकको छनौट गर्न परीक्षाको पवित्रता, स्वच्छता कायम राख्नु आवश्यक रहेको बताउनुभयो ।

आपूmले शिक्षा मन्त्रालय सम्हालेको धेरै समय नभएकाले धेरै कुरा बुझ्न अझै बाँकी भएको बताउँदै उहाँले भन्नुभयो, “मैले पोखरीमा पौडिन भ्याएकै छैन, शिक्षा मन्त्रालयमा आएदेखि काँडाको झ्याङ्मा बसे जस्तो भएको छ, यता फर्के कोतर्छ, उता फर्के घोच्छ, भुँईमा टके टासिन्छ, यहाँ भित्रका समस्यालाई सबै मिलेर हल गर्नुपर्छ ।”

आफ्ना शिक्षकलाई बिर्सने र सम्मान गर्न नसक्ने विद्यार्थीले मुलुक सम्हाल्न नसक्ने टिप्पणी गर्दैै उहाँले शिक्षकबाटै विद्यार्थीले अनुशासन सिक्ने बताउनुभयो । मन्त्रालय मातहतका निकायमा धेरै बेरुजु रहेको आफूले जानकारी पाएको बताउँदै बेरुजुको उचाइ घटाउन निर्देशन दिनुभयो । सानोठिमीभित्र शिक्षा मन्त्रालयअन्तर्गत रहेको जग्गाको पुनः नापी नक्सा गर्न र जमीन बाँझो नराख्न उहाँले निर्देशन दिनुभयो ।

शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड, चिकित्सा शिक्षा आयोगलगायतले भवन अपुग रहेको भन्दै जग्गा मागेकाले त्यसको हल पनि मन्त्रालयले गर्ने उहाँको भनाइ थियो । शिक्षक सेवा आयोगको रिक्त पदाधिकारी छिट्टै नियुक्ती गर्ने उहाँले बताउनुभयो ।

शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शिक्षण पेशालाई जीवनको पहिलो रोजाइ बनाउनुपर्नेमा जोड दिन्ुभयो । आयोगले लिने लिखित परीक्षाले मात्रै नपुग्ने भन्दै उहाँले कक्षामा दिने प्रस्तुती महत्वपूर्ण हु्ने आँैल्याउनुभयो । शिक्षक परीक्षाको पाठ्यक्रम र प्रयोगात्मक परीक्षण प्रणाली परिवर्तन गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । शिक्षकको तालिम, सेवा, वृद्धि विकास आवश्यक रहेको भन्दै आयोगको ऐन परिवर्तन गर्दै स्वायत्तता दिनुपर्ने मैनालीले बताउनुभयो ।

त्यसअवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले आयोगलाई स्वतन्त्र निकायका रुपमा स्वायत्तता प्रदान गर्नुपर्ने बताउँदै ४० जना जनशक्तिका भरमा ५८ हजारभन्दा बढी शिक्षकलाई स्थायी गरेको बताउनुभयो । उहाँले आयोगमा जनशक्ति थप गर्नुपर्ने र आफ्नै भवन बनाउनुपर्ने आवश्यकता रहेको चर्चा गर्दै शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण सङ्ख्या कम हुनु चिन्ताको विषय रहेको बताउनुभयो ।

शिक्षक सेवा आयोगका पूर्वअध्यक्ष ताना गौतमले शिक्षा मन्त्रालयले आयोगलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउनुपर्छ भन्दै आयोगलाई स्वायत्त बनाउनुपर्नेमा जोड दिनुभयो । विद्यालयको शिक्षा कमजोर तर लोकसेवा आयोगको परीक्षा प्रणाली कडा भएका कारण शिक्षकको परीक्षामा कतिपय सक्षम व्यक्ति आउन नसकेको बताउदै उहाँले शिक्षकमा राम्रा र दक्ष मान्छे ल्याउन सके मात्रै गर्व गर्ने ठाउँ रहने उल्लेख गर्नुभयो ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले आयोग शिक्षा मन्त्रालयको छाँयाका रुपमा रहेको टिप्पणी गर्दै यसलाई स्वतन्त्र र स्वायत्त निकायको रुपमा लैजानुपर्ने बताउनुभयो । उहाँले कोरोनाको महामारीमा देशमा रहेका चार लाख शिक्षक र ८० लाख विद्यार्थी रहेकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपको सुनिश्चितता हुनुपर्ने माग गर्नुभयो ।

आयोगका कामु प्रशासकीय प्रमुख दिनेशकुमार श्रेष्ठले आयोगको विगत, वर्तमान र भावी योजना एवं चुनौतीबारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा पूर्वअध्यक्ष गौतमलाई सम्मान गरिएको थियो ।