१३ बैशाख २०८१, बिहीबार

मुलुकले आर्थिक सम्पन्नता हासिल गर्न सक्छ : परिसङ्घ

1585030861

नेपाल उद्योग परिसङ्घले मुलुकको आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)सँग आज आयोजित अन्तरक्रियामा परिसङ्घ अध्यक्ष सतीशकुमार मोरले विगतका सङ्कट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सृजना गरे छिट्टै मुलुकले नयाँ गति लिने बताउनुभयो ।

सबै किसिमका विपत्तिमा पनि निजी क्षेत्र विचलित नभई अघि बढेको भन्दै अध्यक्ष मोरले यसको फाइदा लिएर समृद्धि हासिल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “द्वन्द्व सङ्क्रमणकाल, भूकम्प, नाकाबन्दी र कोरोनाजस्ता जटिल समय हामीले भोग्यौँ । यी सङ्कटले हामीलाई थप क्षमतावान भएर अघि बढ्न सिकाएको छ”, अध्यक्ष मोरले भन्नुभयो “सरकारले उपयुक्त लगानी वातावरण सृजना गरेर अघि बढोस् मुलुक बन्छ ।”

देशको आर्थिक समृद्धिका लागि स्वदेशी पूँजीसँगै विदेशी लगानीको परिचाल अपरिहार्य भएको भन्दै अध्यक्ष मोरले प्रक्रियागत झन्झटमा सरकारले सहजीकरण गर्नुपर्ने धारणा राख्नुभयो । श्रम शक्ति देशको महत्वपूर्ण पूँजी भएको भन्दै उहाँले स्वदेशमा सिर्जना हुने लगानीमैत्री वातावरणले युवालाई देशमा नै राख्न सकिने बताउनुभयो । कार्यक्रममा परिसङ्घका उपाध्यक्ष राजेश अग्रवालले सरकारले निजी क्षेत्रलाई हेर्ने परम्परागत धारणा बदल्नु पर्ने बताउनुभयो ।

नेपाली उद्योगी व्यवसायी स्वदेशमा मात्रै नभई संसारभर प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा पुगेको भन्दै अग्रवालले निजी क्षेत्रको क्षमतामा विश्वास गर्न सरकारलाई आग्रह गर्नुभयो । “पछिल्लो १० वर्षमा हामीले आफूलाई निकै तिखारेका छौँ, हाम्रो क्षमता र फैलावटलाई अनुकूल हुनेगरी सरकारले समयानुकूल ऐन र नियम परिमार्जन गरेर निजी क्षेत्रलाई सघाओस्”, उपाध्यक्ष अग्रवालले भन्नुभयो । नीतिगत सुधार र लगानीमैत्री वातावरणका लागि सरकारसँग निरन्तर पहल गर्ने पनि परिसङ्घले जनाएको छ ।