८ आश्विन २०७८, शुक्रबार

यसपाली कम छ जाडो, चिसोको प्रभाव औषत भन्दा कम

cold

मुलुकमा यसपाली जाडो याममा चिसोको प्रभाव औषतभन्दा कम रहेको छ । गत वर्ष मुलुकका पहाडी क्षेत्रका केही उच्च भेगमा हिमपात भएको थियो तर यसपाली अहिलेसम्म त्यो अबस्था देखिएको छैन । यस वर्षको हिउँदमा बर्षाको अबस्था समेत अत्यन्त न्युन रहेको मौसमविद्ले बताएका छन् ।

हिउँ परेर चिसो हुने यस मौसमा मुलुकमा तापक्रम औषतभन्दा बढी नै रहेको जनाइएको छ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडो याममा औसतभन्दा बढी नै तापक्रम रहने विवरण सार्वजनिक गरेका थिए ।

दक्षिण एसियाली जलवायु आँकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा यसैगरी हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ । उक्त अध्ययनले औसतभन्दा बढी तापक्रम (सुख्खा) रहने औँल्याएको थियो । सोहीअनुसार नै मौसम अघि बढेको देखिन्छ । मुख्यतः समुन्द्र र वायुमण्डलीय स्थितिको विश्लेषण गरेर निष्कर्ष निकालिने गरिन्छ । विभागका अनुसार गत वर्ष नेपालको पूर्वी भेगमा औसत भन्दा बढी चिसो भएको थियो भने अन्य क्षेत्रमा औसत अवस्था मै रहेको थियो ।

यद्यपि आजबाट भने पश्चिमी न्युन चापीय प्रणालीका प्रभावका कारण मौसम बदली भएसँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने पहाडी भेगका केही क्षेत्रमा हल्का वर्षा भएको छ । तराई क्षेत्रमा भने बाक्लो हुस्सु सहित शीतलहर छ । तर पनि बर्षाको औषत अबस्था कम नै रहेको मौसमविद्को भनाइ छ । मौसमविद् निराजन सापकोटा पश्चिमी वायुका कारण प्रणाली परिवर्तन हुँदा यसपटक आइतबारसम्मै चिसो हुने र त्यसपछि विस्तारै खुल्ने बताउनुहुन्छ ।

पश्चिमी वायु पाकिस्तान हुँदै भारतबाट नेपालमा जोडिन आएको हो । यो विस्तारै पुर्व उत्तर सरेर सकिने छ । आज वाग्मतीदेखि सुदुरपश्चिमसम्म बदली छ । प्रदेश १ को पहाडी क्षेत्रमा बदली छ ।

शनिबार पश्चिमबाट सफा हुँदै आउने र पुर्वतर्फ बदली सर्नेछ । शनिबार पोखराबाट पुर्वसम्म बदली रहन्छ । आज काठमाडौँमा तीन बजे आसपास पानी पर्न खोजेको थियो । फाट्टफुट्ट पानी परे पनि एक्कासी आएको हावाले उडाउँदा हिमालतिर सरेको उहाँ बताउनुहुन्छ । हावाले बदलीलाई हिमाली क्षेत्रमा पठाउनु भनेको त्यसक्षेत्रमा बढी हिउँ पर्नु हो । वायु दुई प्रकारको हुन्छ । पूर्वी र पश्चिमी । पूर्वी वायु बङ्गालको खाडीबाट आएको हुन्छ । त्यसले पानी बढी पार्छ ।

पश्चिमी वायु पाकिस्तानबाट भारत हुँदै नेपाल छिरेको वायु हो । यसपाली यस वायुमा जलवाष्पका कण न्यून रहेकाले वर्षा कम भएको हो । बढी जलवाष्प रहँदा बर्षा हुने गर्छ । जसले चिसो भित्र्याउँछ । हिमालमा हिउँ पर्नु पनि यही वायुको प्रभाव हो ।

मनाङका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल जिल्लाका धेरै स्थानमा बाक्लो हिमपात भइरहेको जानकारी दिनुहुन्छ । उहाँका अनुसार कार्यालय परिसरमा समेत हिमपात भइरहेको छ । हिमपातका कारण हिमाली क्षेत्रमा हवाइ उडानसँग जनजीवन समेत प्रभावित छ । युरोपको प्रशान्त महासागरमा तातो बढेकाले पनि त्यहाँबाट आएको पश्चिमी वायुमा जलवाष्पका कण कम हुन गएको मौसमविद् इन्दिरा कँडेलले बताउनुभएको छ । उहाँका अनुसार जति वायु त्यताबाट आयो त्यो पनि हावाको दिशा परिवर्त नहुँदा सबै नेपालमा आउन सकेन ।

जसका कारण नेपालको मौसम अन्य वर्षभन्दा न्यानो बन्न पुग्यो । यसकै कारण हिउँदमा हुनुपर्ने जति बर्षा नभएको हो । आज काठमाडौँमा न्युनतम तापक्रम ३ दशमलव ५ डिग्री छ । अधिकतम २० डिग्रीसम्म छ । विगतका वर्षमा भन्दा यसवर्ष तापक्रम औषतभन्दा बढी नै छ ।

पहिले पहिले धेरै चिसो भएको थियो । गत वर्ष पनि यो मौसममा उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो । यसपाली भने आजसम्म त्यो अबस्था देखिएको छैन । गएको डिसेम्बर २४ मा काठमाडौँमा १ दशमलव २ डिग्री तामक्रम थियो । डिसेम्बर ३१ मा काठमाडौँमा त्यो भन्दा कम (यसवर्ष कै सबैभन्दा कम) न्युनतम तापक्रम ० दशमलव ८ डिग्री पुगेको थियो ।

विगतको इतिहास हेर्ने हो भने सन् १९७८ फेब्रअरी ४ मा सबैभन्दा कम माइनस २ दशमलव ४ डिग्री तापक्रम पुगेको अभिलेख छ । यस वर्ष जाडो मौसममा राम्ररी पानी परेको छैन । यो फ्रेब्रुअरी महिनामा दैनिक औषत वर्षा १८ दशमलव ७ मिलिमिटर हुनुपर्ने थियो । आज बर्षा १३ दशमलव ७ मिलिमिटर मात्रै छ उपत्यकामा आज मात्रै फाट्टफुट्ट पानी परेको छ । राती सामान्य वर्षाको सम्भावना भए पनि औषत बराबरको पानी पर्ने अबस्था नदेखिएको मौसमविद् बताउँछन् ।

सन् २०११ को फेब्रअरी १७ मा ३१ दशमलव ३ मिलिमिटरसम्म पानी परेको अभिलेख छ । प्राप्त विवरण अनुसार राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश १ का केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हिमपातको भइरहेको र यो क्रम राती पनि रहने छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ का धरै स्थानहरु तथा प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतम चिसो थप बढेकाले सावधानी अपनाउन आग्रह गर्नुहुन्छ । उहाँले जाडोबाट जोगिनका लागि आगो ताप्दा विशेष ख्याल गर्न अनुरोध गर्नु भएको छ ।