१६ चैत्र २०८०, शुक्रबार

कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण

fruit nursery

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा १२ हजार स्याउका बिरुवा वितरण गरेको हो । स्याउ उत्पादन राम्रो हुने पुथाउत्तरगङ्गा गाउँपालिकामा कृषकले पनि आफ्नै लगानीमा बिरुवा लगाइरहेको छन् । कृषकलाई व्यावसायिक बन्न थप मद्दत मिलोस् भन्ने हेतुले अनुदानमा बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका–६ मा मात्रै छ हजार स्याउका बिरुवा वितरण गरेको छ । त्यहाँ एक स्थानीय तह एक उत्पादन कार्यक्रमसमेत लागू भएको छ । बाँकी छ हजार बिरुवा भने कृषकको मागका आधारमा वितरण गरेको गाउँपालिकाका कृषि प्राविधिक सन्तोष ओलीले जानकारी दिनुभयो । उनीहरुलाई रेड, गोल्डेन र रोयल डेलिसियस जातको स्याउका बिरुवा वितरण गरिएको कृषि प्राविधिक ओलीले बताउनुभयो ।

यस्तै कृषककै मागका आधारमा गाउँपालिकाले इटालीबाट पनि स्याउका बिरुवा मगाएको छ । गाउँपालिकाले अनुदानमा स्याउका बिरुवा उपलब्ध गराएपछि खुशी भएका कृषक भने स्याउका बिरुवा सुकेर जाने हुन कि भन्ने पिरमा छन् । आकासेपानीको भरमा गरिने यहाँको खेती प्रणालीमा लामो समयदेखि पानी नपरेपछि कृषक समस्यामा परेका छन् । स्याउको बिरुवा रोप्नका लागि खाल्डो खनिसकेका कृषक पानी नपरेपछि बिरुवा रोप्ने की नरोप्ने भन्ने दोधारमा परेको गाउँपालिका–१ का कृषक लक्ष्मीप्रसाद पुनले बताउनुभयो । यसपालि त घरबाटै पानी बोकेर खाल्डोसम्म पु¥याउन सकेमात्र बिरुवा लगाउन सकिने छ, नत्र भने बिरुवा मरेरै जाने उहाँले बताउनुभयो ।

सिँचाइ अभावमा आकाशबाट पानी नपर्दा यहाँका नागरिकले यस्तो समस्या बारबार झेल्दै आएको वडा नं ६ काजरजङ्गका अर्का कृषक लक्ष्मी बुढाले बताउनुभयो । आकाशबाट पानी नपर्दा यस वर्ष जिल्लाभरिकै कृषक समस्यामा परेका छन् । जिल्लाको माथिल्लो भेगमा गरिने स्याउखेतीसँगै जिल्लाभर नै लगाइएको गहुँबालीलाई ठूलो असर परेको छ । पानी नपरेपछि गहुँ बारीमै सुक्दै गएको सिस्ने गाउँपालिका–३ की मीना केसीले बताउनुभयो । सिँचाइको अभावमा सधैँ समस्या झेल्दै आएका कृषक पानी नपरेपछि थप समस्यामा परेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुमपूर्वले जनाएको छ ।

    सम्बन्धित समाचार...