६ बैशाख २०८१, बिहीबार

आफैँ हट्दै गयो ‘लम्पी स्कीन’ रोग

08 09 2020 08gyp10c 20723713 203132

केही महीनाअघि पशुमा देखा परेको ‘लम्पी स्कीन’ रोग पछिल्लो समय आफैँ नियन्त्रणमा आउन थालेको छ । गएको असारदेखि देखापरेको यो रोग पछिल्ला दिनमा कतै पनि देखा परेको छैन ।

रोग देखा परेपछि सरकारी संयन्त्र प्रयोग गरेर किसानलाई जनचेतना जगाइएको थियो । रोग आफैँ नियन्त्रणमा आएको पशु विज्ञ र प्राविधिकको भनाइ छ । रोग लागेपछि गाईवस्तुका शरीरका विभिन्न भागमा सानाठूला गिर्खा देखिने, मुखबाट फिँज निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्नेजस्ता लक्षण देखा पर्छ । रोगले चापेपछि पशुको मृत्युसमेत हुन्छ ।

मृत्यु नभए पनि दूध घट्ने हुन्छ । रोग नियन्त्रणका लागि खोप वा औषधि छैन । त्यसैले विभिन्न उपाय अपनाएर रोग लाग्नै नदिने उपाय रचेर किसानलाई सचेत गराइएको थियो ।

मलमूत्र व्यवस्थापन गर्ने र झिँगा, लामखुट्टे बस्न नदिने उपायबारे किसानलाई सचेत गराइएको भेटिनरी अस्पताल पशुसेवा विज्ञ झापाको सम्पर्क कार्यालय इलामका चिकित्सक डा सञ्जय ढुङ्गानाले बताउनुभयो । फोहोर ठाउँमा रोगले बढी आक्रमण गर्ने भएकाले झिँगा, लामखुट्टेबाट सर्ने सम्भावना धेरै हुन्छ । गोठ सरसफाइमा सचेत हुन अनुरोध गरेको उहाँको भनाइ छ । जिल्लाका चार स्थानीय तहमा रोग देखा परेको थियो ।

किसान बढी सचेत भएकै कारण नियन्त्रणमा आएको डा ढुङ्गानाको भनाइ छ । “एक किसिमले मौसमी फ्लु पनि हो । व्यवस्थापनमा जोड दिएकाले नियन्त्रणमा सहज भयो” ढुङ्गानाले भन्नुभयो । यो रोग नेपालका तराईका सीमा क्षेत्रका जिल्लामा पहिलो चरणमा देखा प¥यो ।

प्रदेश १ का मोरङ, झापा र सुनसरी प्रदेश २ को रौतहट र वाग्मती प्रदेशका चितवन र मकवानपुरका पशुमा रोग देखा परेको थियो । विस्तारै अन्य जिल्लामा पनि देखा परेको हो । पशुको किनबेच, ओसारप्रसार र कीटाणु फैलाउने जीवका कारण रोग फैलिएको पशु चिकित्सक डा ढुङ्गानाको भनाइ छ ।

लामो समय सीमाबाट पशु ल्याउन÷लान बन्देज गरियो भने रोगी पशुलाई छुट्टै गोठमा राखियो । “शरीरमा घाउ देखिँदै पोटासले धुने, अरू पशुभन्दा भिन्न ठाउँमा राख्ने गरियो” डा ढुङ्गानाले भन्नुभयो, “यसले पनि नियन्त्रणमा सहयोग पुग्यो । पशु चिकित्सकलाई पनि किसानका गोठ पु¥याएर सहजीकरणमा सहयोग पु¥याइयो ।”
रोग देखिएपनि निदानको उपचार नहुँदा किसान र चिकित्सक चिन्तित भएका थिए । अझै पनि रोग पूर्णरूपमा हटिसकेको भन्न नसकिने कार्यालयका चिकित्सक डिकबहादुर कार्कीको भनाइ छ । मौसमी फ्लु भएकाले कुनै मौसममा फेरि देखापर्ने सम्भावना हुन्छ ।

किसानले सधैँ यसबाट सचेत भएर पशुपालन गर्नुपर्ने ढुङ्गानाको भनाइ छ । रोग लागेर निको भए पनि पशुबाट फाइदा लिन गाहे छ । असी प्रतिशतसम्म दूधमा हस आउँछ । लैनो गाईमा रोग देखापरेमा किसानले आर्थिक भार बढी पर्छ ।

यो रोग कुन ठाउँबाट सर्न थाल्यो पत्ता छैन तर सीमा क्षेत्रका जिल्लामा देखा परेकाले भारतबाट सरेको आँकलन गरियो । शुरुमा मोरङका पशुमा लम्पी स्कीन देखियो । यसै समयमा नेपालमा कोभिड–१९ देखा परेको थियो ।

सरकारले बन्दाबन्दी गरेपछि सीमामा पशु आवातजावतसमेत घट्यो । केही हदसम्म रोग नियन्त्रणमा आएको चिकित्सक डा ढुङ्गानाको भनाइ छ । इलाम पनि भारतको सीमावर्ती जिल्ला हो । बन्दाबन्दीपछि पशु ओसारप्रसार हुन नसक्दा रोग नियन्त्रणमा आएको अनुमान छ ।

    सम्बन्धित समाचार...