६ बैशाख २०८१, बिहीबार

काठमाडौंमा भएको विमान अपहरण बारे वेव–सिरिज बन्दै

Sriram Raghavan home

काठमाडौं बिमान अपहरणमाथि सिरिज बनाउँदै ‘अन्धाधुन्द’ निर्देशक ‘अन्धाधुन्द’ फेम्ड फिल्म निर्देशक श्रीराम राघवनले काठमाडौंमा भएको इन्डियन एयरलाइन्स विमान अपहरणको घटनामाथि वेव–सिरिज निर्माण गर्ने भएका छन् ।

बलिउडहंगामाका अनुसार अर्कोवर्ष छायांकन सुरु हुने सिरिजको लोकेसन अवलोकनका लागि राघवन काठमाडौं आउने भएका हुन् ।

डिसेम्बर २४, १९९९ मा पाकिस्तानी आकंवादी संगठन हर्कत अल मुजाहुद्दिनको एक समूहले भारतीय वायुसेवा निगमको एसी–८१४ कलसाइन एयरबिमान काठमाडौंको आकाशमै अपहरण गरेका थिए ।

अपहरण गरिएको उक्त बिमानबाट कसरी १७६ यात्रुलाई सकुशल उद्दार गरियो भन्ने कथावस्तु सिरिजले चित्रण गर्ने भएको छ । राघवनका लागि यो सिरिज डिजिटल डेब्यु पनि हुनेछ ।

निर्देशक राघवनले अहिले यो घटनामाथि अनुसन्धान गरिरहेको र विमानका चालक दल र यात्रुसँग कुरा गरिरहेको जनाइएको छ । अपहरणकारीले २७ जना यात्रुलाई दुबई लगेर छाडेका थिए भने कैंयौंलाई घाइते अवस्थामै रिहा गरेका थिए । पक्राउ गरिएका ती तीन आतंकवादीलाई भारतले सोही वर्षको डिसेम्बर ३१मा छाडेको थियो ।

राघवन निर्देशित फिल्म ‘अन्धाधुन्द’ले नेपाली बक्सअफिमा पनि राम्रो कमाइ गरेको थियो । उनी भारतीय सेनाका दोस्रो तहका लेफ्टीनेन्ट कर्णेल अरुण क्षेत्रपालमाथि बन्ने फिल्मको छायांकनमा जाने तयारीमा थिए तर, कोरोना महामारीले उक्त फिल्म सुटिङमा जान सकेन ।