१३ बैशाख २०८१, बिहीबार

नेता बाँस्तोलालाई थुनामुक्त गर्न आदेश

dharmendra bastola

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द विप्लब समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्टार र नेपाल बार एसोशिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले आज थुनामुक्त गर्न आदेश जारी गरेको हो । “स्पष्ट आधार र कारण विनाप्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानका क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएबाट निजलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ”, आदेशमा भनिएको छ ।

यसअघि, यही माघ १५ गते न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दी सहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न भनिएको थियो । विप्लब नेकपाका पश्चिम कमाण्ड इञ्चार्ज रहनुभएका बाँस्तोलाको तर्फबाट हिमा बाँस्तोला सर्वोच्चमा बन्द प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलालाई नख्खु स्थित एनसेल टावरमा भएको बम बिस्फोटको घटनामा संलग्न रहेको आरोप लागेको छ ।