७ बैशाख २०८१, शुक्रबार

सुनकोशी–तेस्रोको अध्ययन अन्तिम चरणमा

Hydro project
फाइल फोटो

सुनकोशी–तेस्रो (५३६ मेघावाट) जलाशययुक्त विद्युत् आयोजना प्राविधिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्राविधिक तर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टान लगायत अन्य अवस्थाका बारेमा इञ्जिनीयरिङ डिजाइनको काम भने सकिएको विद्युत् विकास विभागले जनाएको छ ।

प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएको र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम बाँकी रहेको छ । विभागका इञ्जिनीयर सुवास थपलियाका अनुसार इआइए अध्ययनका क्रममा वन तथा वातावरण मन्त्रालयमा कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृतिको क्रममा रहेको छ । कोभिड–१९ का कारण पनि सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण केही प्रक्रिया पर धकेलिएको हो ।

“कोभिडका कारण आयोजनाको परामर्शदाता कम्पनीले फिल्डमा गएर कामगर्ने वातावरण नभएकाले इआइएको काम केही धकेलिएको हो”, थपलियाले भन्नुभयो । परियोजनाको मापदण्ड तथा कार्य विवरण प्रतिवेदन (टिओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको थियो । एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोशी–तेस्रोको टिओआर भने एक वर्षअघि नै अर्थात् गत वर्ष माघमा विद्युत् विकास विभागलाई बुझाइसकेका थिए । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा के कस्तो ब्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्तिलगायतको विषयसमेत उल्लेख गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरुपमा आयोजनाको इआइएका लागि क्षेत्र निर्धारण गर्न गत साल नै प्रक्रिया शुरु गरिए पनि कोभिडका कारण एक वर्ष लम्बिएको विभागले जनायो । एक वर्षअघि आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो ।

विभागले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि रु १९ करोड बजेट विनियोजन गरेको थियो । दुवै आयोजना अध्ययनको काम सक्न रु ३३ करोड लाग्ने थपलियाले बताउनुभयो । परियोजना अन्तर्गत वागमती प्रदेश अन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सिमाना भएर बग्ने सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेघावाट विद्युत् उत्पादन हुनेछ ।

आयोजनाका लागि लुभूघाट स्थित नदीमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलब एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङ्गबाट लुभूघाट नजिक निर्माण गरिने विद्युत गृहमा लगिनेछ भने लगभग ५३६ मेघावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिनेछ । आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका करिब एक हजार ६०० परिवार प्रभावित हुनसक्ने पा्ररम्भिक अध्ययनबाट देखिएको छ ।

आयोजनाबाट सिन्धुपाल्चोकका तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकका तीन गाउँपालिका र दुई नपा, रामेछापका दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युत गृह र डुबानक्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाका प्रभावित क्षेत्र डुवान क्षेत्रमा पर्नेछन् । वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियम ४ (१), अननुसूची–२ बमोजिम इआइए प्रतिवेदन तयार गर्दा प्रभावित भनिएका क्षेत्रमा भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिनुपर्ने भएकाले समयसीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरुपमा सार्वजनिकरुपमा अपिल गरिसकेका छन् ।

पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा सरोकारवालासँग छलफल गर्ने वातावरण तयारी चरणमा रहेको बताउनुभयो । “सुनकोशी तेस्रो जलाशययुक्त विद्युत् आयोजना जसरी पनि सम्पन्न गर्ने नै हो, यसपछि माछापालन, बोटिङ, पर्यटकीय होटल तथा थप पर्यटकीय स्थल विकासको समेत सम्भावना छ”, उहाँले भन्नुभयो । सन् १९८५ मै जापान इन्टरनेशनल कोअपरेशन (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युतको सम्भाव्यता अध्ययन गरेको थियो ।

जाइकाले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युत्मध्ये सुनकोशी तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलव चार मेघावाट क्षमता) निर्माणपश्चात प्रस्तावित सुनकोशी–३ जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ । विसं २०७५ चैतमा काठमाडाँैमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा पनि सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रसारण लाइनको समस्या छैन । प्रस्तावित आयोजना निर्माणस्थल सङ्घीय राजधानी काठमाडौँबाट ६० किलोमिटरको दूरीमा छ ।