१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्री रोगजगार कार्यक्रम अन्तर्गत २१ लाख खर्च गरी हाइकिङ रुट निर्माण

bhimeswork nagarpalika jilu

बृन्दावनदेखि साहित्यिक पार्कसम्म प्रधानमन्त्री रोगजगार कार्यक्रम अन्तर्गतको रु २० लाख ६८ हजार खर्च गरी भीमेश्वर नगरपालिकाले जिलु क्षेत्रमा हाइकिङ रुट निर्माण गरेको छ ।

बृन्दावनबाट गौरीशङ्कर हिमाल, तामाकोशी नदी, शैलुङ र हनुमन्तेका भीमकाय पहाडको मनमोहक दृश्य अवलोकन गर्दै साहित्यक पार्कसम्म यात्रा गर्न सो पदमार्ग निर्माण गरिएको हो । सदरमुकाम चरीकोटबाट एक किलोमिटरको दूरीमा पर्ने सो पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रातः भ्रमण गर्ने उपयुक्त गन्तव्य बनेको छ ।

उक्त पदमार्ग निर्माणले यहाँका नागरिकको आर्थिक अवस्थामा मजबुत बन्नसक्ने अनुमान गरिएको छ । नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा आएको रु ५१ लाख ७० हजारमध्ये रु २० लाख ६८ हजार लगानी गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष हरिवंश चौलागाईले बताउनुभयो ।

पदमार्ग निर्माणले पर्यटक भित्र्याइ स्थानीयलाई रोजगार सिर्जना गर्ने उद्देश्य रहेको नगरपालिकाका रोजगार संयोजक डम्बर ओलीले जानकारी दिनुभयो । “आन्तरिक पर्यटन भित्र्याउन नगरपालिकाको अगुवाइमा सिँढी बनाउने काम गरिरहेका छौँ”, मजदूर तिलक सापकोटाले भन्नुभयो, “२०-२० जनाको समूह बनाई महिला पुरुष दुवैले समान ज्याला लिने गरी समान काम गरीरहेका छौँ ।”