८ बैशाख २०८१, शनिबार

समाधिस्थलका विषयमा विवाद, मान्छे मर्दा समाधि सार्न घरमै चिट्ठी

jalekhharka

सल्यानमा समाधि स्थलको विषयमा स्थानीयवासी बीच विवाद उत्पन्न भएको छ । बागचौर नगरपालिका–९ जलेखर्कमा १५० वर्ष पुरानो समाधिस्थलका विषयमा पछिल्लो समयमा विवाद बढ्न थालेको हो ।

दशनामी जातिले प्रयोग गर्दै आएको समाधि स्थलका विषयमा सोही ठाउँमा चिहान बनाउने की सार्ने भन्ने विषयमा स्थानीयवासी दुई पक्षमा विभाजित भएपछि गाउँमा सामाजिक सम्बन्ध समेत बिग्रन थालेको छ । गाउँमा रहेका एक पक्षले डेढ दशकदेखि प्रयोग गरिरहेको पृतिकोटमा रहेको समाधि स्थल कायमै राख्ने भन्दै आएको छ भने अर्को पक्षले समाधि स्थल गाउँभन्दा टाढा बनाउनुपर्ने अडान राख्दै गएपछि विवाद चुलिँदै जान थालेको छ ।

जलेखर्कमा अधिकांश परिवार दशनामी समुदायका भएकाले आफ्नो संस्कार अनुसार शव अन्त्येष्टिका लागि नजलाएर चिहान बनाएर समाधिष्ट गर्ने प्रचलन रहेको स्थानीयवासी चन्द्रबहादुर कवरले जानकारी दिनुभयो । “हाम्रो पुर्खाको यसै पितृकोटमा समाधि छन््, हामी पनि मृत्युपछि यही बस्ने हो”, कवरले भन्नुभयो, “हाम्रो घर अस्थायी हो, यो चिहान नै हाम्रो स्थायी घर भएकाले मृत्युपछि हाम्रो पुर्खासँग नै हामीपनि बस्न चाहन्छौँ ।”

स्थानीयको विवादपछि आफूहरुले सोही स्थानमा अमिन बोलाएर चिहानका लागि जग्गा छुट्याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि हामीले आफ्नो ठाउँमा समाधि बनाउन नपाउने यो कस्तो अन्याय हो, जब यहाँ कसैको मृत्यु हुन्छ, यो ठाउँमा चिहान नबनाउनु होला भनेर त्यो घरमा चिट्ठी भेटिन्छ ।” मानिसलाई एक अकल्पनीय दुःख परेको बेला छिमेकीले छोडेको यस्तो पत्रले झनै दुःखी बनाउने गरेको उहाँको भनाइ छ ।

अर्को पक्षले भने चिहान भएको ठाउँ आसपासमा अहिले बस्ती विस्तार हुँदै गएकाले आफूहरुलाई समस्या भएको बताएका छन् । पुर्खौंदेखि यस स्थानमा मानिसको समाधिष्ट गरिँदै आए पनि अब भने बस्ती विस्तार हुन थालेपछि स्थानान्तरण गर्नुपर्ने स्थानीय खिमावली गिरीले बताउनुभयो । घर नजिकै रहेको चिहानस्थलमा शव ल्याउँदा महिला र बालबालिकालाई डर तथा त्रास हुने गरेको उहाँको भनाइ छ । चिहानसम्बन्धी विवाद इलाका प्रहरी कार्यालय थारमारे, वडा कार्यालय हुँदै नगरपालिकासम्म पुगेको छ । सम्बन्धित सरोकारवालाले पटक–पटक दुवै पक्षबीच सहमति गराए पनि कार्यान्वयन भने हुन सकेको छैन ।