fbpx
१८ फाल्गुन २०७७, मंगलवार

साँघुरिँदै सिमसार

वन, वनस्पति, वन्यजन्तु र मानव जीवनका लागि अति महत्वपूर्ण सिमसार क्षेत्र साँघुरिँदै गएको छ । जलवायु परिवर्तन, मानव अतिक्रमण र संरक्षणको अभावमा सिमसार क्षेत्र साँघुरिँदै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वातावरण विज्ञानका उपप्राध्यापक अनन्तप्रकाश सुवेदी पानीले राम्रोसँग भिजेको ठाउँ वा अत्यधिक आद्रता भएको जमीनलाई सिमसार भनिने बताउनुहुन्छ ।

उहाँका अनुसार त्यस्तो जमीन, जहाँ पानीको सतह र जमीन करीब एउटै स्तरमा हुन्छ अनि बोटबिरुवाको अस्तित्व रहेको हुन्छ, जहाँ जमीन लुक्दैन, पानी सुक्दैन र रसिलो जमीन भएको क्षेत्रलाई सिमसार भन्ने गरिन्छ । पानीको मुहानलगायत दलदल, धानबाली एवं पानी जमेको क्षेत्रलाई सिमसार जनाउने गरेको उहाँको भनाइ छ । नेपालको राष्ट्रिय सिमसार नीति २०५९ अनुसार जमेको वा बगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिमरूपमा बनेको दलदल क्षेत्र हो । त्यसमा धापलगायत नदीको बाँध क्षेत्र, ताल, पोखरी, जलाशय एवं धानबालीसमेत पर्छ । सुवेदी पछिल्ला दिनहरुमा सिमसार खुम्ँिचदै जानु मानव जातिका लागि हितकर नभएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “बढ्दो जनसङ्ख्या, खण्डीकृत हुँदै गएको जमीन र जलवायु परिवर्तन सिमसार मासिँदै जानुको मुख्य कारण हुन् ।” विश्वभर नै सिमसार क्षेत्र घट्दै गएको भन्दै उहाँले त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको बताउनुभयो । वन र वन्यजन्तुका लागि देशमै महत्वपूर्ण मानिएको चितवनमा सिमसार घटेको प्रभाव प्रस्टरुपमा देखिन थालेको सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, “निकुञ्जबाट वन्यजन्तु बस्तीमा आउनुको पछाडिका कारण सिमसारको प्रभाव हो ।” यसले गर्दा मानव र वन्यजन्तुका बीचमा द्वन्द्व बढ्दै गएको उहाँ बताउनुहुन्छ ।

चितवन रााष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल वन र वन्यजन्तुको कल्पना सिमसारविना गर्न नसकिने बताउनुहुन्छ । ठूला र दुर्लभ वन्यजन्तु पानी पिउने, आहाल खेल्ने मात्रै होइन, यही ओसिलोपनाले वनस्पति उम्रिएर आहार तयार हुन्छ । बरालको भनाइमा गैँडा, बाघ, हात्ती जस्ता जनावरका लागि सधैँ पानीको आवश्यकता पर्दछ भने गर्मी मौसममा आहाल र पौडीका लागि पानी नभई हुँदैन । निकुञ्जभित्रका तलाउहरुमा गेग्रानहरु भरिँदै जानु, पातपतिङ्गर, जलकुम्भी जस्ता झारले ढाक्ने र पलाएका घाँस मरेर जाँदा तलाउ पुरिँदै गएका छन् ।

निकुञ्जले वर्षेनि त्यस्ता तलाउहरु सरसफाइ गर्ने गरेको भए पनि पर्याप्त हुन नसकेको भन्दै उहाँले क्रमशः सिमसार घट्दै जाँदा यसको प्रत्यक्ष प्रभाव वन्यजन्तुमा परेको बताउनुभयो । बाढीपहिराले भत्काएर पनि सिमसार मासिएको उहाँको भनाइ छ । निकुञ्जको बाहिरी भागमा मानव अतिक्रमणका कारण ताल, खोलानाला प्रभावित हुने गरेका छन् । घोल खेत मासेर मानव बस्ती विस्तार हुँदै जाँदा पनि सिमसार खुम्ँिचदै गएको छ ।

निकुञ्ज र वन क्षेत्रमा सिमसार मासिँदै जाँदा वन्यजन्तु मानव बस्ती पस्ने समस्या बढेको छ । सिमसार क्षेत्र घोषणा र व्यवस्थापन मार्गदर्शन २०७५ ले २७ प्रतिशत चरा र ८५ प्रतिशत वनस्पतिका प्रजाति सिमसारमा आश्रित भएको उल्लेख गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रहनुभएका हाल प्रदेश नं २ का वन सचिव रामचन्द्र कँडेल निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी र रिउ नदीमा पानीको स्रोत घट्दै जाँदा यसमा आश्रित वन्यजन्तु प्रभावित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिमसारको प्रभावका कारण वन्यजन्तु मानव बस्ती पस्न थालेका हुन् ।”

पोखरी सुकेपछि ती जनावरले आहाल खेल्न नपाएको र उनीहरु चर्ने घाँसेमैदान प्रभावित बनेको कँडेलको भनाइ छ । निकुञ्ज हुँदै बग्ने नदी खोलाहरुमा पानी स्रोत कम हुँदा पानी रिचार्ज हुन नपाएर निकुञ्जभित्र पानीको अभाव हुँदै गएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “निकुञ्जभित्रको पानीका स्रोत राप्ती, नारायणी, रिउ जस्ता नदी खोलाबाट रिचार्ज हुने गर्दछन् । मुख्य स्रोत नै कम भएपछि रिचार्ज घट्दै गएको छ ।” राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने नदीजन्य पदार्थको उत्खनन र प्रदूषणका कारण पनि सिमसार क्षेत्र प्रभावित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जथाभावी रुपमा गरिने नदीजन्य पदार्थको उत्खननले पानीको चक्रलाई नै बिगारेको छ ।”

शहरी क्षेत्रको फोहोरको उचित व्यवस्थापन नगर्दा यसको प्रभाव सिमसार क्षेत्रमा समेत परेको उहाँले बताउनुभयो । जसका कारण वन र वन्यजन्तु प्रभावित भएको लामिछाने बताउनुहुन्छ । समयमा नै यसतर्फ ध्यान दिन नसके भविष्यमा ठूलो सङ्कट पैदा हुन सक्नेतर्फ उहाँले सचेत गराउनुभयो । वन मन्त्रालयको वनस्पति विभागका उपसचिव मधु घिमिरे नेपालको कूल क्षेत्रफलमध्ये आठ लाख १९ हजार २७७ हेक्टर सिमसारले ओगटेको बताउनुहुन्छ ।

नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्रहरू रहेको बताउँदै उहाँले नेपालले अन्तर्राष्ट्रिय महत्व भएका १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गराई व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो । देशका सबै प्रदेश र स्थानीय तहमा यस्ता सिमसार क्षेत्रहरू बाँडिएका छन्  । नेपालमा पाँच हजार ३५८ ताल, तीन हजार २५२ हिमनदी, दुई हजार ३२३ वटा हिमताल रहेको उहाँले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारी निकुञ्जभित्र ५० भन्दा बढी प्राकृतिक तालतलैया, ६० भन्दा बढी मानवनिर्मित पोखरी, तीन वटा नदी प्रणाली, रामसार सूचीमा सूचीकृत बीस हजारी ताललगायत थुप्रै तालतलैया र सिमसार क्षेत्र रहेको बताउनुहुन्छ । जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनाल जिल्लामा ४३१ कबुलियती वन, ९३ सामुदायिक वन, एउटा बरन्डाभार संरक्षण वन र पाँचवटा धार्मिक वन हुँदै विभिन्न खोला, खोल्सा बग्ने गरेको र तालतलैया रहेको बताउनुहुन्छ ।

मानव अतिक्रमण र संरक्षणको अभावमा सिमसार क्षेत्र घट्दो क्रममा रहेको उहाँको भनाइ छ । निकुञ्जमा मात्रै होइन, मानव बस्ती वरपर रहेका खोला, खोल्सा, घोल र सिमखेतहरु मासिँदै जाँदा सिमसार क्षेत्र प्रभावित बनेको छ । यसका प्रत्यक्ष प्रभाव मानव जातिलाई समेत पर्ने गरेको छ ।