७ बैशाख २०८१, शुक्रबार

कसले लिक गर्यो प्रधानमन्त्रीको फोन संवाद

प्रतिनिधिसभा विघटन निर्वाचनको मिति तय

राजनीति कति अनैतिक हुन्छ भन्ने बुझ्न अहिले बालुवाटारतिर हेरे पुग्छ । कुनैबेला जनयुद्ध, माओवादी पार्टी र त्यसका कार्यकर्ताको नामसम्म सुन्न नचाहने प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान पूर्वजनमुक्ति सेनाका लडाकुहरुलाई कसरी आफ्नो पार्टीमा भित्र्याउने भन्नेमा छ । प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालयका मान्छेलाई दिनहुँजस्तो लडाकुहरुसँग भेटघाट,कुराकानी र फोन गर्न भ्याईनभ्याई छ ।

दौडधुप यतिसम्म कि,केही समयअघिसम्म नमस्कारसमेत नफर्काउने ती मान्छे अहिले आफैं फोन गरेर भेट्न बोलाइरहेका हुन्छन् । पूर्वजनमुक्ति सेनाका एक लडाकुले भने, ‘गृहमन्त्रीको सचिवालयबाट फोन आएको थियो,मैले त्यति वास्ता गरिन ।’ त्यति मात्र हो र प्रधानमन्त्री स्वयमले पूर्व लडाकुका नेताहरुसँग गरेका फोन संवाद छरपष्ट छ ।

कहिल्यै माओवादी जनयुद्धप्रति सकारात्मक नबन्नुभएका ओलीलाई एकाएक किन जनमुक्ति सेनाप्रतिको मोह बढेको होला ? ती पूर्व लडाकु भन्छन्, ‘यो कुनै मोह हैन, पार्टी विभाजनपछि पनि आफूलाई पूर्वजनमुक्ति सेनाको साथ छ भन्ने देखाउन अपनाइएको फण्डा मात्र हो । प्रधानमन्त्रीले छँदाखाँदाको संसद विघटन गरेर पार्टी फुटाएपछि उहाँ कमजोर हुनुभयो,त्यसैले जसरी पनि पूर्वमाओवादी पंक्तिलाई आफूतिर तान्ने उहाँको अघोषित अभियान हो भन्दा हुन्छ ।’

पूर्व जनमुक्ति सेनाका लडाकुहरुलाई आफूतिर तान्ने र प्रचण्डमाथि मनोवैज्ञानिक दबाब सृजना गर्ने रणनीति बुझ्न सकिन्छ । त्यसैले उहाँ पूर्वलडाकुहरुलाई फोन गरेर आफूतिर आउन आग्रह गरिरहनुभएको छ । पूर्व बाल लडाकुले प्रधानमन्त्रीसँग गरेको कुराकानी बालुवाटारकै योजनामा बाहिर ल्याइएको पनि बताइन्छ ।

स्रोतका अनुसार बालुवाटार आफैँले उक्त अडियो सार्वजनिक गरेको हो । ठूलो संख्यामा पूर्वलडाकु भित्र्याउने योजना असफल भएपछि अझै पनि छलफल भैरहेको सन्देश दिन यस्तो गरिएको स्रोतको भनाइ छ । जनमुक्ति सेनाका लडाकुहरुले नै सुनियोजित ढंगले अडियो बाहिर ल्याइएको भन्नुले पनि बालुवाटारबाट यस्तो हर्कत भएको बुझ्न कठिन छैन ।

उक्त अडियो रेकर्डमा प्रधानमन्त्रीसँग पूर्व बाल लडाकु, अयोग्य लडाकुका उपाध्यक्ष तथा प्रवक्ता राजन थापाले गरेको कुराकानी छ । ३ मिनेट ४१ सेकेण्डसम्म दुईबीच कुराकानी भएको छ । संवादमा राजनले प्रधानमन्त्रीसँग भनेका छन्, ‘अहिले जे निर्णय लिनुभयो, त्यसप्रति हाम्रो संगठनको तर्फबाट सकारात्मक समर्थन छ । यो निर्णय देशको हितका निम्ति छ ।’ त्यसप्रति प्रधानमन्त्रीले धन्यवाद भन्नुभएको छ ।

देशभर ४ हजार ८ जना अयोग्य पूर्वलडाकु रहेको भन्दै उनले आफूहरुका निम्ति केही गरिदिन अनुरोध गरेका छन् । तर, प्रधानमन्त्रीले ‘अयोग्य लडाकु’ भन्ने शव्द सुन्नासाथ आपत्ति जनाउनुभएको छ । उहाँले ‘अयोग्य लडाकु भनेको लडाकुका निम्ति अयोग्य,अयोग्य लडाकु भनेको होइन । लडाकु भनेर उनीहरुले (माओवादी नेतृत्व) लडाकु भनेर जे पेश गरे, त्यो क्याटेगोरीमा मिलेन भनेको मात्रै हो । लडाकु भनिएको तर साँचो नठहरिएको मात्रै हो ।’

थापाले भने प्रधानमन्त्रीसँगको कुराकानी निकै सकारात्मक भएको तर अडियो लिक किन र कसरी भयो भन्ने कुराले अचम्म पारेको बताएका छन्। ‘यो सुनियोजित ढंगले अडियो बाहिर लिक भएको छ । प्रधानमन्त्रीसँगको फोन संवाद लिक भएकोप्रति अनभिज्ञ छु । लिक भए पनि हामीले उठाउँदै आएको मुद्दालाई सहयोग पुगेको छ’, उनले भनेका छन् ।

जन आस्था