८ बैशाख २०८१, शनिबार

१ सय २२ चिनियाँ नागरिकलाई आज चीन पठाइँदै

Chinese 1482149620

सरकारले काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई चीन पठाउने तयारी गरिरहेको छ ।

४२ जनालाई पहिलो समूहमा चाइनाइस्टन एयरको विमानबाट दिउँसो ४ बजेर ५५ मिनेटमा र बाँकी अरुलाई ६ बजेर ५५ मिनेटमा साउदन एयरवेजबाट चीन पठाउने तयारी भएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले दुर्व्यवहार मुद्दामा एक हजार रुपैयाँ जरिबाना लिएर छाड्ने आदेश दिएसँगै कारबाहीको जिम्मेवारी अध्यागमन विभागमा पुगेको थियो । विभागले उनीहरुको भिसा अनुसन्धान गर्दा दुरुपयोग नभएको देखिएको र प्रहरीको अनुसन्धानले पनि ठूलो अपराध नगरेको देखाएकोले चीन पठाउन लागिएको विभागका महानिर्देशक पौडेलले बताउनु भयो ।

पक्राउ परेका १ सय १४ पुरुष र ८ महिला चिनियाँ नागरिकमध्ये ३० जनासँग मात्र राहदानी (पासपोर्ट) छ। बाँकीले राहदानी फ्याँकेको प्रहरी र अध्यागमन  विभागको अनुमान छ।

विभागले उनीहरुको भिसा रद्द गरिदिएको छ । यस्तै चिनियाँ दूतावासले उनीहरुको राहदानी पनि रद्द गरिदिएको छ । उनीहरुलाई चार वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरि कालोसूचीमा राखिएको पनि अध्यागमन विभागले जनाएको छ ।

उनीहरुलाई चीन पठाउन यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिएको विभागका महानिर्देशक पौडेलको भनाई छ । उनीहरुलाई चीन लैजान विमान कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेका छन् ।

उनीहरु गएको पुस ७ गते काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ परेका थिए ।

गृहलाई चिनियाँ दूतावासको पत्र

पक्राउ परेका चिनियाँलाई चीन लैजान सहयोग गरिदिन काठमाडौंस्थित चिनियाँ दूतावासले गृह मन्त्रालयलाई यसअघि नै पत्राचार गरेको थियो । परराष्ट्र मन्त्रालय हुँदै गृहमा पत्र आइपुगेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । पत्रमा उनीहरूलाई लैजाने सहजीकरण गरिदिन आग्रह गरिएको छ ।

नेपाल र चीनबीच सुपुर्दगी छैन, जसकारण उनीहरूलाई औपचारिक रूपमा नेपालले चीनलाई बुझाउनेछैन । अपराध गरेर लुक्न नेपाल आएका अन्य देशका नागरिकलाई पनि नेपालले यसैगरी सम्बन्धित देशलाई बुझाउने गर्छ । नेपालमा अपाराध गरेर विदेशमा पक्राउ परेका नेपालीलाई पनि सोही प्रक्रियामार्फत नेपाल ल्याएर अभियोजन हुने गरेको छ ।