१४ बैशाख २०८१, शुक्रबार

निर्वाचन आयोगले ४४१ को बहुमत जहाँ छ त्यो मूल पार्टी हो भनेको छ : नेपाल

madhav nepal rupandehi

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले सरकारले जन चाहनानुरुप काम गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

बुटवलमा आज आयोजित सभामा नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले सरकारले नेपाली जनताको भावना र चाहना नबुझेको र यसबाट समस्या भएको बताउनुभयो । उनीहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको र सरकारले समय तोके पनि निर्वाचन हुन असम्भव रहेको विचार व्यक्त गरे ।

सभामा नेकपाका अध्यक्ष नेपालले ४४१ सदस्यीय नेकपा मात्रै वैधानिक रहेको भन्ने निर्वाचन आयोगको निर्णयले आफ्नो समूह नै मुख्य पार्टी भएको जिकिर गर्नुभयो । “निर्वाचन आयोगले ४४१ को बहुमत जहाँ छ त्यो मूल पार्टी हो भनेको छ । त्यसैले हामी नै मूल पार्टी हौँ ”, पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो ।

अर्का अध्यक्ष दाहालले पार्टी एकताको मर्मविपरीत प्रधानमन्त्रीले तीन वर्ष नबित्दै सहमति तोड्ने काम गरेको आरोप लगाउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिको बाटामा अघि बढाउनाको साटो प्रतिनिधिसभा नै भङ्ग गरेर जन चाहना विपरीत काम गरेको धारणा राख्दै पूर्वप्रधानमन्त्री दाहालले संविधान र लोकतन्त्रको रक्षाका लागि एक ठाउँमा आउन सबैलाई अपिल गर्नुभयो ।

पार्टी स्थायी कमिटीका सदस्य घनश्याम भुसालले समृद्धि र समाजवादतर्फ अघि बढ्नुपर्नेमा सरकार गलत बाटामा हिँडेको आरोप लगाउनुभयो । प्रधानमन्त्रीले पार्टीले लिएको बाटो छाडेर एक्लै अगाडि बढ्न खोज्दा समस्या सिर्जना भएको टिप्पणी गर्दै पूर्वमन्त्री भुसालले पार्टीविरुद्ध पनि आवाज उठाउन तयार हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

अर्का स्थायी कमिटी सदस्य वर्षमान पुनले सरकारले माओवादी जनयुद्ध र त्यसमा सहभागी घाइते अपाङ्गता भएका पूर्वलडाकुलाई राहत र उपचार गर्न नसकेको भनाइ राख्नुभयो । सभामा नेकपाका नेता युवराज ज्ञवाली, चक्रपाणि खनाल, ओनसरी घर्तीलगायतले जनचाहनाविपरीत प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभयो ।