१२ बैशाख २०८१, बुधबार

ढुङ्गामाथि आकर्षक मन्दिर निर्माण

temple Myagdi

म्याग्दी नदी किनारको फराकिलो र समथर फाँटको बीचमा गोलो आकारको विशाल चट्टान । फेदीदेखि शिरसम्म घुमाउरो रेलिङसहितको पैदलमार्ग । चट्टानको शिरमा आकर्षक मन्दिर । बेनी नगरपालिका–२ बगरफाँटमा चट्टानमाथि निर्माण भएको दुर्गा भगवती मन्दिरले भक्तजन र पर्यटकलाई आकर्षित गर्न थालेको छ । करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको चट्टानी पहाडको अवलोकन, पहाडलाई फन्को लगाउन सकिने पैदलमार्गमा यात्रा गर्न र शिरको मन्दिर दर्शन गर्न भक्तजन र पर्यटक आउन थालेका छन् ।

अलौकिक चट्टानमाथि बनेको मन्दिर अनौठो रहेको मङ्गलाघाटका दीपक बानियाँले बताउनुभयो । विसं २०३९ मा काठ र माटोबाट बनेको मन्दिरलाई पुनःनिर्माण र त्यहाँसम्म पुग्ने पदमार्ग निर्माण गरिएपछि आकर्षक बनेको छ । डिभिजन वन कार्यालय, बेनी नगरपालिका, जिल्ला मालपोत कार्यालय र चन्दा सहयोग जुटाएर कूल रु १५ लाख ८१ हजार ४६४ को लागतमा मन्दिर पुनःनिर्माण, मूर्ति प्रतिष्ठान र पदमार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय म्याग्दीले रु चार लाख ६४ हजार, बेनी नगरपालिकाले रु दुई लाख ३३ हजार ५५, मालपोत कार्यालयले पूजा खर्चबापत रु १० हजार र बगरको बालुवाबाट रु २० हजार सहयोग प्राप्त भएको थियो ।

चन्दा दाताबाट रु ११ लाख २२ हजार ५७० जुटाइएकामा रु दुई लाख ६८ हजार ४६४ बचत भएको उपभोक्ता समितिका अध्यक्ष कार्कीले बताउनुभयो । चट्टानको फेदीदेखि शिरमा रहेको मन्दिरसम्म पुग्न दुई तर्फबाट १०० मिटर रेलिङसहितको पक्की पदमार्ग निर्माण भएको छ । पदमार्गको कुनातर्फ भूमे, गणेश, राधाकृष्ण, सीताराम, नाग, महारानी र शिव पार्वतीको मूर्ति राखिएको छ । मन्दिर परिसरमा बलि दिने ठाउँ निर्माण र करिब ५० मिटर रेलिङ बनाएर घेराबार बनाइएको छ ।

बेनी–बरङ्जा सडकदेखि मन्दिर निर्माण भएको चट्टानको फेदीसम्म जोड्ने पदमार्ग र प्रवेशद्वार निर्माणका लागि पहल गरिएको वडासदस्य चन्द्र कुँवरले बताउनुभयो । यो चट्टानमाथि बसेर परा पूर्वकालमा ऋषि मुनिले तपस्या गरी ज्ञान आर्जन गरेको स्थानीय बूढापाकाले बताएका छन् । दैनिक पूजाआजा हुने मन्दिरमा बडादशँै र चैतेदशँैको समयमा विशेष मेला लाग्ने र बलि चढाउने गरिन्छ । जिल्ला सदरमुकाम बेनी बजार नजिकै रहेको बगर फाँटको दुर्गा भगवती मन्दिरको महत्व र विशेषताको प्रचार प्रसारमा जोड दिएमा पर्यटन विकासमा सहयोग पुग्ने वडा सदस्य कुँवरले बताउनुभयो ।