६ बैशाख २०८१, बिहीबार

भाइरल अर्जुन बिक जबरजस्ती करणी आरोपमा पक्राउ

unnamed

प्रहरीले छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाउँदै सामाजिक सञ्जालमा भाइरल भएका कैलालीका अर्जुन बिकलाई पक्राउ गरेको छ ।

बिकलाई कैलाली प्रहरीले शरीर बन्धक एवं जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरी मंगलबार सार्वजनिक गरेको जनाएको छ । बिककी आफ्नै श्रीमतीले नै आरोप लगाउँदै गत साउन ३० गते प्रहरीमा जाहेरी दिएको र त्यसैको आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनलाई काठमाडौं प्रहरीसँग समन्वय गरेर तिनकुनेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलाली घोडाघोडी नगरपालिका–२ साँडेपानी निवासी २४ वर्षीय छित्ता भन्ने अर्जुन बिकविरुद्ध श्रीमतीले चार वर्षसम्म कोठामा राखी डर, धाक धम्की दिएर जबरजस्ती करणी समेत गरेर फरार रहेको जाहेरीमा उल्लेख छ ।

कैलालीकै भजनी नगरपालिका–४ बाट १७ वर्षीया श्रीमतीले २०७३ जेठदेखि २०७७ साउन १५ गतेसम्म उनीहरु काठमाडौंस्थित देविनगरमा डेरामासँगै बस्दै आएका थिए । बिक हाल कैलाली प्रहरीको हिरासतमा रहेका छन् ।

उनिविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । जाहेरी भएपछि कैलाली प्रहरीले अर्जुनविरुद्ध शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर खोजतलास सुरु गरेको थियो । बिक सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरेर चर्चा कमाएका थिए ।