१६ चैत्र २०८०, शुक्रबार

जेएनयूमा ५० भन्दा बढी नकाबधारी समूहले विद्यार्थी कुटे, कैयौँ घाइते

1578241735JNU

भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ हिंसा भएको छ ।

सो हिंसामा जेएनयु छात्र संघका अध्यक्षमाथि पनि आक्रमण भएको छ । यो हमला जेएनयु क्याम्पसभित्र भएको थियो । टीभी रिपोर्टमा जनाइएअनुसार नकाबपोश आक्रमणकारीले छात्रबासमा गएर आक्रमण गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार जेएनयु क्याम्पसमा ५० भन्दा बढी मानिस छिरेका थिए । उनीहरुले लाठी बोकेका थिए । अधिकांशले आफ्नो अनुहारमा कपडा बाँधेका थिए । क्याम्पसमा छिर्ना साथै उनीहरुले विद्यार्थीमाथि आक्रमण गरेका थिए ।

आक्रमणमा थुप्रै छात्र घाइते भएका छन् । दिल्ली सरकारले जेएनयु क्याम्पसमा घाइते भएका छात्रलाई उपचारको लागि लैजान ७ वटा एम्बुलेन्स पठाएको थियो । दिल्ली प्रहरीले जेएनयुको मुख्य गेटमा भारी मात्रामा प्रहरी तैनाथ गरेको छ । जेएनयुको गेट र बाहिर सो घटनालाई लिएर विरोध प्रदर्शन भएको थियो ।

यसका साथै जेएनयुमा हिंसा भएको विरोधमा मुम्बईमा गेट वे अफ इन्डियाको बाहिर थुप्रै कलेजका छात्रले प्रदर्शन गरेका थिए । जेएनयु प्रशासनले सो घटनाको निन्दा गरेको छ । गृहमन्त्री अमित शाहले दिल्लीका प्रहरी कमिसनरलाई जेएनयुमा भएको हिंसाको अनुसन्धान गरी दोषीलाई तत्काल कारवाही गर्न र सो सम्बन्धी रिपोर्ट आफूलाई दिन निर्देशन दिएका छन् । (बीबीसी)