१५ चैत्र २०८०, बिहीबार

प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता कुँवरको निधन

download 14

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ ।

मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टे«टलगायत रोगबाट पीडित उहाँको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । एक साता अघिदेखि खम्बासिंहलाई अस्पतालमा राखेर उपचार गरिँदै आएको उहाँका पारिवारिक सदस्य नारायणसिंह कुँवरले जानकारी दिनुभयो ।

भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार उहाँको बिहान ८ः४५ बजे निधन भएको हो । उहाँमा निमोनियाको समस्या पनि देखिएको अध्यक्ष अधिकारीले जनकारी दिनुभयो । उहाँको आजै पवित्र तीर्थस्थल देवघाटमा दाहसंस्कार गरिँदै छ । त्यसअघि नेकपा चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको जनाएको छ ।

श्रद्धाञ्जलि कार्यक्रममा कुँवरका राजनीतिक शिष्य नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत आउने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलिपछि आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ ।

विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नं ७ मा बुबा ललितजङ्ग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो । विसं २०१५ मा चितवन झर्नु भएका कुँवरले सम्पूर्ण जीवन र आफ्नो जायजेथा पनि पार्टीलाई नै सु्म्पिनु भएको थियो ।

उहाँलाई विसं २०६८ मा चितवनमा नागरिक समाज र तत्कालीन माओवादी पार्टीले नागरिक अभिनन्दनसहित रथारोहण गराएको थियो । यस्तै विसं २०६९ मा नेपाल सरकारले उहाँलाई सुप्रबल जनसेवाश्री विभूषणद्वारा सम्मानित गरेको थियो । जीविकोपार्जनका लागि भारत जाँदा २००७ सालमै भारतीय कम्युनिष्ट पार्टीका नेता अमृत डाँगीको सङ्गतमा परेपछि उहाँ नेपालमै फर्किएर वर्गीय आन्दोलनमा होमिनुभएको थियो । विसं २०१४ मा नन्सेन्टर जिल्ला कमिटीको नेतृत्वमा रहनुभएका उहाँ त्यसपछि मोहनविक्रम सिंह, शम्भुराम, मनमोहन अधिकारी निर्मल लामालगायतका नेतासँगै न्यूक्लियस सङ्गठन गरेर सङ्गठन विस्तारमा लागेको उहाँ जीवितहुँदै राससलाई बताउनुभएको थियो ।

विसं २०३१ मा मोहनविक्रम सिंह महामन्त्री रहेको चौथो महाधिवेशनमा पोलिटब्यूरो सदस्य रहनुभएका उहाँले गण्डकी, नारायणी, लुम्बिनीलगायत क्षेत्रमा रहेको आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । विसं २०३४ मा गोरखाको आरुघाटमा प्रगतिशील शिक्षकका लागि नेकपा चौमको प्रशिक्षण कार्यक्रम भएको थियो । त्यसका प्रशिक्षक कुँवर हुनुहुन्थ्यो । प्रशिक्षार्थीमध्ये एक हुनुहुन्थ्यो ‘प्रचण्ड’ । त्यही प्रशिक्षणबाट प्रभावित भएर विसं २०३५ मा शिक्षक पेशा छोडेर दाहाल दीर्घकालीन कार्यकर्ता हुनुभएको बताइन्छ ।

विसं २०४८ मा नेकपा माओवादी गठन भएपछि निरन्तर केन्द्रीय सल्लाहकार समिति सदस्य रहनुभएका खम्बासिंह जनयुद्धकालमा भूमिगत हुनुहुन्थ्यो । हाल उहाँ पार्टीको केन्द्रीय सल्लाहकार रहनुुभएको जिल्ला अध्यक्ष परियारले जानकारी दिनुभयो । उहाँका एक छोरा र चार छोरी हुनुहुन्छ । उहाँ परिवारका सदस्यसँग भरतपुर महानगरपालिका–१० मा बस्दै आउनु भएको थियो ।

दुर्घटनामा दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाईकलाई ठक्कँर दिँदा दुई जनाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको टापटिङका २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरी धरानका २० वर्षीय गौरव राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दाँया मोड्ने क्रममा बा २ ख ५६७४ नं को सनराइज बोर्डिङ बसले विपरीत दिशाबाट जाँदै गरेको बा ९२ प ५२०४ नं मोटरसाईकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते दुबै जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिहान ९ः२० बजे घटना भएको र दुबै जनाको अस्पताल ल्याउना साथ ९ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार छन् ।

    सम्बन्धित समाचार...