६ बैशाख २०८१, बिहीबार

प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको छ ः सभामुख सापकोटा

agni sapkota
फाइल फोटो

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको बताउनुभएको छ । अन्तरपार्टी महिला सञ्जालले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सरकारको काममा प्रतिनिधिसभाले सधँै सहयोग गरेको र कुनै पनि अवरोध नभएको स्पष्ट पार्नुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, “सरकारको नीति तथा कार्य होस् वा बजेट पास गर्ने विषयमा प्रतिनिधिसभाले सहयोग गरेको छ । कार्यपालिकालाई पूर्ण रुपमा सहयोग नै गरिएको छ । कुनै पनि असहयोग भएको छैन ।”पछिल्लो पटक प्रतिनिधिसभा विघटनका सम्बन्धमा पनि आफ्नो तर्फबाट विज्ञप्ति मार्फत पनि अवस्थाको बारेमा जानकारी गराएको र सर्वोच्च अदालतमा स्पष्ट रुपमा आफ्नो धारणा पठाएको उहाँको भनाइ छ ।

सभामुखको हैसियतले के गर्न सकिन्छ भन्ने बारेमा आफूले गम्भीरतापूर्वक चिन्तन मनन गरिरहेको जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभाको सञ्चालनमा अवरोध आएको उल्लेख गर्दै राजनीतिक दल, नागरिक समाज तथा सरोकार भएका व्यक्ति वा निकायले प्रकट गरेको विश्वासलाई आफूले सम्मान गर्ने बताउनुभयो ।

अन्तर पार्टी महिला सञ्जालले नेपालको संविधानमा प्रतिनिधिसभा विघटन सम्बन्धी कुनै पनि प्रावधान नभएको भन्दै संवैधानिक र कानूनी आधार बिना गरिएको विघटन आफूहरुलाई मान्य नभएको उल्लेख गरेको छ । नेपालको संसदीय प्रणाली मौलिक विशेषता सहितको भएको स्पष्ट पार्दै सञ्जालले प्रतिनिधिसभा विघटनलाई अस्वीकार गर्न सभामुखलाई आग्रह गरेको छ ।

सञ्जालका अध्यक्ष सावित्रा भुसाललको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सभामुख सापकोटालाई ज्ञापन पत्र बुझाएको थियो ।