१६ चैत्र २०८०, शुक्रबार

माओवादी पूर्वलडाकुका दुवै संगठन ओली समुहमा, ओलीको आश्वासन– विगतमा जस्तो धोका पाउनुहुन्न

purba ladaku 696x380 1

तत्कालीन माओवादी जनयुद्धका क्रममा लडेका लडाकुलाई केन्द्रित गरी सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ ।

पूर्वलडाकुका दुवै संगठन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा समाहित भई आफूहरूको हकहितका लागि विशेष कार्यक्रम ल्याउन प्रधानमन्त्रीसँग आग्रह गरेपछि प्रधानमन्त्री ओली उनीहरूको हितमा केन्द्रित कार्यक्रम ल्याउन सहमत भएका हुन् ।

शनिबार तत्कालीन माओवादीका लडाकुहरूको संगठन पूर्वजनमुक्ति सेना तथा बहिर्गमित बाल सेना संगठनका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।

नेकपा–दाहाल नेपाल समूहका केन्द्रीय सदस्य लीलबहादुर थापासहित पूर्वलडाकु कमान्डरहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली नेतृत्वमा समाहित भएको घोषणा गरेका हुन् । पूर्वलडाकु संगठनका अध्यक्ष टुकबहादुर थापा (अर्जुन) र बहिर्गमित बाल सैनिक संगठनका लेनिन विष्टसहितका पदाधिकारीले ओली पक्षमा लागेको घोषणा गरेका थिए ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनाका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । ओलीले विगतमा नेतृत्वले गरेको गल्ती आफूले नगर्ने बताउँदै भने, ‘जनयुद्धको अवधिमा तपार्इंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूको भावनाको दुरूपयोग ग-यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, मबाट कहिल्यै गल्ती हुनेछैन ।’

‘तपार्इंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुनेछैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनाका कमान्डरले ‘जनयुद्ध’ का क्रममा खेलेको भूमिकाको प्रशंसा गरे । साथै पूर्वलडाकुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान व्यक्त गर्दै पार्टी र सरकारले उनीहरूको समस्या समाधान गर्ने बताए ।

५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एक पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरिरहेका छन् । पार्टी विभाजन भएपछि नेकपा नेताहरूको तानातान छ ।

प्रतिनिधिसभा विघटनपछि ओली समूह निर्वाचनको तयारीमा जुटेको छ । यता दाहाल–नेपाल समूह प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै आन्दोलनमा छ । पार्टी विभाजन भएपछि पूर्वमाओवादी केन्द्रका शीर्ष नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतका नेताहरू ओली समूहको नेकपामा छन् । उनीहरूले समेत पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई ओली समूहमा तानिरहेका छन् ।