१३ बैशाख २०८१, बिहीबार

सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग

gold price nepal

सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँग आज भएको छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीले कोटा प्रणाली खारेजीका लागि सहयोग गर्न आग्रह गरेको हो ।

महासङ्घका अध्यक्ष गोल्छासँगको भेटका क्रममा सुनचाँदी व्यवसायीका तर्फवाट अध्यक्ष माणिकरत्न शाक्यले निर्वाध रुपमा व्यवसाय सञ्चालनका कोटा बढाउनुपर्ने, निर्यात प्रबद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्था हुनुपर्ने, कच्चा सुन प्रशोधन केन्द्र स्थापना गरिनुपर्नेलगायतका विषय कार्यान्वयनका लागि सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

त्यसक्रममा अध्यक्ष गोल्छाले सुनचाँदी व्यवसायीका समस्या समाधानका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । व्यवसायीका जायज मागमा महासङ्घले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उहाँले अहिलेको खुल्ला बजारमा कोटा प्रणाली ठीक नभएको भन्दै सुनचाँदी व्यवसायीको आग्रहअनुसार त्यसलाई खारेज गर्न महासङ्घले पहलकदमी लिने विश्वास व्यक्त गर्नुभयो ।

आयातित सुन पुनः विदेश नजाओस् भन्नतेर्फ हामी आफैँ सचेत हुनुपर्ने उहाँको भनाइ थियो । पछिल्लो समय नेपालमा विभिन्न वाणिज्य बैंकमार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ । केही सयम अगाडिसम्म दैनिक २० किलो आयात हुँदै आएकामा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सीमित गरेको हो । देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनबाट देखिएको छ ।