६ बैशाख २०८१, बिहीबार

विद्यालय भवन भत्काउँदा पठनपाठन अवरुद्ध

School
फाइल फोटो

जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ ।

सो विद्यालय भवन सरकारी वन क्षेत्रमा रहेको र थप विद्यालय कोठा निर्माण गर्न लागेपछि कार्यालयले यही पुस २५ गते भत्काएको बताइएको थियो । बकैया गाउँपालिका–१ को ढिकीफेदीमा रहेको वनदेवीकालिका आधारभूत विद्यालयको बन्दै गरेको नयाँ भवन र पुरानो टहरालाई भत्काइएको विद्यालयका प्राचार्य सरलोकुमार कछडियाले गुनासो गर्नुभयो । कक्षा १ देखि ३ सम्म पठनपाठन हुने सो विद्यालयमा १०७ विद्यार्थी शिक्षाबाट वञ्चित भएको उहाँले बताउनुभयो ।

कार्यालयका प्रमुख इमनाथ पौडेलले सरकारी वनमा भवन बनाउन लागेकाले भत्काइएको हो भन्नुभयो । विद्यालयको नयाँ भवन निर्माण विषयमा अर्को गाउँसँग विवादसमेत रहेकाले भवन भत्काउन त्यहाँका बासिन्दाले सहयोग गरेको स्थानीय अभिभावकहरुको भनाइ रहेको छ ।

यो समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला वन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा एकाइ, बकैया गाउँपालिका र सो विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिको सहभागिता थियो । बैठकले यही माघ १५ गतेसम्म गाउँपालिकाले दुई गाउँको सहमति ल्याउनुपर्ने र सहमतिअनुसार वनले सो निर्णयलाई स्वीकार गर्ने सहमति भएको गाउँपालिका उपाध्यक्ष सरला वोलखेले जानकारी दिनुभयो ।