७ बैशाख २०८१, शुक्रबार

मर्मतका लागि विद्युत् आयोजना बन्द

Bidut
फाइल फोटो

मर्मतका लागि हिल्दुम साना जलविद्युत् आयोजना बन्द हुने भएको छ । दैनिकजसो विद्युत् अपुग हुने र चुहावट हुँदै आएका कारण पुनःमर्मतका लागि विद्युत् आयोजना शनिबार बन्द गर्न लागिएको हो ।

सदरमुकाम सिमकोट आसपासका गाउँ र खार्पुनाथ गाउँपालिकामा सेवा प्रवाह भएको विद्युत् एक दिनका लागि बन्दपश्चात् नियमित हुने हिल्दुम विद्युत् वितरण आयोजना कार्यालयका प्रमुख साजन ऐडीले बताउनुभयो । प्रमुख एडीले भन्नुभयो, “माघ १० गते शनिबार परेकाले सदरमुकाम अवस्थित कार्यालयलाई प्रभाव नपर्ने उद्देश्यका साथ हिल्दुम खोलामा रहेको पावरहाउस बन्द हुँदै छ ।”

सोही दिन बिहान ८ बजेदेखि कम्तीमा पनि दुईदेखि तीन घण्टासम्म मर्मत गर्न समय लाग्ने भएको ऐडीले बताउनुभयो । उहाँका अनुसार मर्मत भएपश्चात् सोहीदिन बेलुका विद्युत् सेवा पुनःसञ्चालनमा आउने छ । हाल सदरमुकाम सिमकोटमा दैनिक कम्तीमा ११ घण्टा विद्युत्भार कटौती हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् ।

कोरोना सङ्क्रमितमुक्त

हुम्ला बिहीबारदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ । यसअघि कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बस्दै आएका सङ्क्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना सङ्क्रमितमुक्त जिल्ला भएको हो । एक जना सिटिजन्स बैंकका कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोनामुक्त बनेको हुम्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

गत पुस २५ गते एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिटिजन्स बैंकका एक महिला कर्मचारीसहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो । कोरोना देखिएका पुरुष कर्मचारीलाई केही दिन अगाडि जिल्ला बाहिर काठमाडौँ लगिएको छ । महिलाको भने कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी घर फिर्ता भई साथै हुल्ला कोरोनामुक्त बनेको छ ।

लामो समय कोरोना सङ्क्रमणका हिसाबले ग्रिनजोनका रुपमा रहेको हुम्लामा गत असोजयता ९१ मा कोरोना सङ्क्रमण देखिएको थियो । ती सबै निको भएर घर फर्किएपछि हाल सङ्क्रमित सङ्ख्या शून्यमा झरेको हो । गत असोज ३ गते हुम्लामा पहिलोपटक नेपालगञ्जबाट हवाईजहाजमा आएकी युवतीमा कोरोना देखिएको थियो । त्यसपछि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको थियो ।